सन्दर्भ : अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

183

रिदेन महर्जन

विश्वभर मार्च ८ अर्थात अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने गरिन्छ । क्लारा जेट्किनको नेतृत्वबाट सन् १९१० मा अन्तर्राष्ट्रिय श्रमिक  महिला दिवस शुरु भएको  हो । यो दिवस  मनाउन थालिएको १ सय १२ वर्ष पूरा भएको छ । नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ । सरकारी स्तरबाट यो दिवसलाई नारी दिवसका रुपमा मनाउने गरिन्छ भने यो दिन सरकारले विदा पनि दिने गरेको छ ।

नारी दिवसका नाममा विभिन्न कार्यक्रम आयोजना गर्ने होड नै चलेको छ हाम्रो देशमा । नेपालमा मनाइने विभिन्न दिवसहरु खाली पर्वकै रुपमा सिमित हुन पुगेका छन् । नारी दिवस पनि त्यस्तै औपचारिकता बन्न पुगेको छ । नारी दिवसले महिलाहरुका अधिकारहरुमा खासै योगदान पु¥याएको पाइदैन । महिला अधिकारका सवालमा नारी दिवसले कुनै कदम उठाउन सक्दैन भने यो दिवसको औचित्य बारे प्रश्न उठ्नु पनि स्वाभाविक हुन्छ ।

महिला अधिकारका सवालमा सरकारे ठोस नीति नै छैन । अझ भन्ने हो महिला अधिकारका सवालमा कानुन पनि अपूर्ण नै छ । व्यवहार भेदभावपूर्ण छ ।  छोरी जन्मेदेखिनै जन्मेको घरबाटै भेदभावपूर्ण व्यवहार सुरु हुन्छ । विवाह भएर अर्काको घरमा जानुपर्ने छोरीको बाध्यता समाजले कहिले बुझ्ने ? यो बाध्यताको अन्त्य कसरी गर्ने ? जबसम्म यो बाध्यताको अन्त्य हुँदैन नारी दिवसको अर्थ पनि हुनेछैन ।

नियम, कानुन र समान व्यवहारको अभावका कारण अझै पनि समाजमा पुरुषको तुलनामा महिलाहरु शोषण र उत्पीडिनको सिकार भइरहेका पाइन्छन् । पैत्रिक सम्पत्तिमा महिलालाई अधिकार हाम्रो नेपाली समाजले कानुनी  व्यवस्थामा समेत कन्जुस्याँइ गरिरहेको छ । शिक्षाको अभावका कारण २१ औं शताब्दीमा आइपुग्दा पनि नेपालमा महिलामाथि अन्याय भइरहेको पाइन्छ । प्रत्येक घर परिवारमा छोरा र छोरीबीच विभेद कायमै रहेको यथार्थ हो । यो अवस्था अझै पनि विद्यमान रहनु र यसबाट समाजलाई मुक्त बनाउन  नसकिनुले पनि नारी दिवसको ११२ औं वर्ष कसरी बिते होला भन्ने प्रश्न उठ्न सक्छ ।

नेपाली समाज पुरुष प्रधान समाज नै हो । पुरुष प्रधान समाजमा महिलाले समान अधिकार खोज्नु संघर्षको एउटा पक्ष हो । धार्मिक अन्धवविश्वास र कुरितीकै कारण पनि पुरुष र महिलाबीच समान विकास भएको पाइदैन । विशेषतः शिक्षाको अभावका कारण तथा चेतनाको अभावका कारण ग्रामीण क्षेत्रका महिलाहरुमाथि विभेद ज्यादा भइरहेको पाइन्छ । शहरी इलाकाका महिलाहरुमा समेत विभेद कायमै रहेको पाइन्छ । तर पनि ग्रामीण इलाका विभेदबाट बढि प्रभावित हुने गरेका छन् । बोक्सीको आरोप, दाइजोका कारण, कम उमेरमै विवाह गर्ने चलन आदिले गर्दा नारीहरु समाजमा माथि उठ्न सकेका छैनन् । ग्रामीण क्षेत्रमा यो अवस्था निक्कै डरलाग्दो देखिन्छ । यसको अन्त्यका लागि राज्यले विशेष कार्यक्रम अभियानकै रुपमा लागू गर्न जरुरी छ । महिलाको शैक्षिक विकास विना सुन्दर सभ्य समाजको परिकल्पना गर्न सकिदैन भन्ने गरिन्छ, तर यसलाई व्यवहार कार्यान्वयन कसरी गर्ने भन्ने बारे कुनै योजना बनाएको पाइदैन । पढेलेखेका महिलाहरु आफ्नो हैसियत  अनुसार पुरुष सरह नै मान, सम्मान र व्यवहारको अनुभव गरिरहेको कुरा पनि सुनिन्छ । खासगरी सहरी क्षेत्रमा यो अवस्था विद्यमान छ । त्यसैले नारी दिवसका रुपमा धनाढ्य महिलाहरुले पनि यो दिवसलाई मनाउने गरेका छन् । तर श्रमिक महिलाहरुको हकमा अझै पनि विभेदकै विरुद्ध संघर्ष जरुरी छ भन्ने सन्देश अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको ११२ औं दिवसका अवसरमा पनि महत्वपूर्ण छ ।

युरोप, अमेरिकाको तुलनामा अझै पनि नेपालका नारीहरु खुलेर हिड्न समेत सक्ने अवस्था छैन । श्रमको कुरा त  धेरै टाढाको विषय भयो । घरको भान्छामै सीमित हुनु पर्ने बाध्यता नेपाली ग्रामीण महिलाहरुको रहेको छ । यसो हुनुको मूल कारण चेतनाको अभाव, संकूचित सोच तथा पुरातन सोचकै परिणाम हो । जसलाई जरैदेखि उखेलेर फाल्नु आवश्यक छ । यो नै अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिलाहरुले गर्नुपर्ने प्रण हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here