काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा बद्री केसीले आगामी कार्यकालको लागि अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन्।
उनले गैरआवासीय नेपाली संघको यही मार्च २१ र २२ मा हुने १०औं महाधिवेशनका लागि बुधबार उम्मेदवारी दर्ता गरेका हुन्।
उनले गैरआवासीय नेपाली संघको स्थापना कालदेखि निरन्तर काम गरेको अनुभव र अहिलेको कार्यसमितिमा आफू सिनियर भएकाले अध्यक्षमा उम्मेदवारी दिएको बताए। डा केसीले संस्थागत शुद्धीकरण, एनआरएनएमा दोस्रो पुस्ता, महिला, युवाको सहभागिता, नेपालमा लगानी, विज्ञान प्रविधि, वैदेशिक रोजगारीलगायतका क्षेत्रमा सक्रिय भएर काम गर्ने प्रतिबद्धता जनाएका छन्।
२००३ देखि एनआरएन अभियानमा होमिएका डा केसी २००७ सम्म आइसिसी रुसको साधारण सदस्य रहेका थिए। त्यसपछि २००७ देखि ००९ सम्म आइसिसी रुसको महासचिव भएर काम गरेका उनी २००९ देखि भने अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) प्रवेश गरे। २००९-२०११, २०११–२०१३ गरी दुई कार्यकाल आइसिसी सदस्य रहेका उनी २०१३–२०१५ मा भने कोषाध्यक्ष चयन भए।
त्यसपछि २०१५ देखि २०१९ सम्म दुई कार्यकाल महासचिव र २०१९–२०२१ मा उपाध्यक्ष रहेका उनले अहिले अध्यक्षमा उम्मेदवारी दिएका हुन्। बायो टेक्नोलोजीमा मस्कोबाट २००१ मा पीएचडी गरेका उनको रसिया र नेपालमा विभिन्न क्षेत्रमा व्यवसाय र लगानी रहेको छ।
एनआरएनएमा उम्मेदवारी दर्ताको क्रम बढ्दै गएको छ। त्यस्तै एसिया प्यासिफिक क्षेत्रअन्तर्गत उपसंयोजक पदका लागि जापानबाट ददिवल खड्काले उम्मेदवारी दर्ता गराएका छन्। ३० वर्षदेखि जापानमा व्यवसाय गर्दै आएका खड्का सफल व्यवसायी हुन्। खड्का मोना आईसीसीका वरिष्ठ उपाध्यक्ष एवं नेपाली व्यवसायी संघ जापानका उपाध्यक्षसमेत हुन्। -न्युज कारखाना

















