घाइते नागरिकको उद्धारमा रुसले अवरोध सिर्जना गरेको आरोप

108

एजेन्सी । युक्रेनले विभिन्न स्थानमा घाइते भएका आफ्ना नागरिकको उद्धारमा पनि रुसले अवरोध सिर्जना गरेको आरोप लगाएको छ। युक्रेनमा रुसी सैनिकको हमलाबाट भौतिक संरचना र मानवीय क्षति भएको छ।

हमलाबाट घाइतेको उद्धारमा रुस बाधक बनेको युक्रेनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ओलेग निकोलेन्कोले बताएका छन्। उनले रुसी सेनाले दक्षिण–पूर्वीसहरहरू घाइते भएका नागरिकलाई सुरक्षित स्थानमा लैजान खोज्दा निरन्तर गोलाबारी गरेको आरोप लगाए। युक्रेनको दक्षिण–पूर्वी सहर मरिपोलमा मानवीय सहायता र उद्धारका लागि आठवटा लोरी र ३० वटा बस बाटोमा रहेको युक्रेनी अधिकारीले जनाएका छन्।

केही दिनयता ती क्षेत्रबाट नागरिकको उद्धाका लागि रुसले आंशिक युद्धविराम घोषणा गरेको छ। तर युक्रेनले रुसले निरन्तर हमला गरिरहेको आरोप लगाइरहेको छ। मरिपोल, समी र आरपिनबाट युक्रेनी नागरिक ज्यान जोगाउन भागदौड गरिरहेका छन्।

संयुक्त राष्ट्रसंघको तथ्यांकअनुसार रुसी हमलामाको चपेटामा युक्रेनमा एक हजार दुई सय ७ गैरसैनिक परेका छन्। त्यसमध्ये चार सय ६ जनाको मृत्यु भएको र बाँकी घाइते भएको तथ्यांकमा उल्लेख छ। संयुक्त राष्ट्रसंघका अनुसार हालसम्म युक्रेन छोड्नेको संख्या २० लाख पुगेको छ। राष्ट्रसंघअन्तर्गतको शरणार्थीसम्बन्धी उच्च आयोगका आयुक्त पिलिपो ग्राण्डीले युक्रेन छोड्ने लहरले युरोपमा दोस्रो विश्वयुद्धपछिकै उच्च शरणार्थी संकट बढिरहेको बताएका छन्।

रुसले युक्रेन हमला गरेको विरोधमा युरोपेली मुलुकले विभिन्न प्रतिबन्ध लगाएका छन्। त्यसको जवाफमा रुसले प्राकृतिक ग्यास लाइन बन्द गर्ने चेतावनी दिएको छ। रुसका उपप्रधानमन्त्रीले प्रतिबन्धविरुद्ध युरोपेली मुलुकमा जाने प्राकृतिक ग्यासको लाइन बन्द गरिदिने चेतावनी दिएका हुन्। नागरिक दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here