काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको काम आजदेखि ठप्प हुने भएको छ। मेलम्ची खानेपानी आयोजना प्रभावित तथा बाढीपीडित सरोकार समन्वय समितिले गत असार १ गतेको बाढीले प्रभावितहरुको पुनर्स्थापना हुन नसकेको र प्रभावित क्षेत्रको समस्या समाधान नभएको भन्दै आजबाट आयोजनाको काम ठप्प गर्ने निर्णय गरेको हो।
सोमबार मेलम्ची नगरपालिका ६ तालामाराङमा भएको कार्यक्रममा पूर्व मन्त्री एवम् सांसद शेर बहादुर तामाङले असार १ गतेको बाढीले पुर्याएको क्षति र प्रभावितको पुनर्स्थापनामा सरकारले ध्यान नदिएको आरोप लगाए।
बाढी गएका बेला मन्त्रीसमेत रहेका उनले आफूले प्रभावितरुहको उद्धार, राहत र पुनर्स्थापनाका लागि जोडदार माग गरेको भए पनि अहिलेको सरकारले चासो नदिएको आरोप लगाए। सांसद तामाङले आफूले पटक-पटक कुरा उठाउFदा पनि सुनुवाइ नभएको भन्दै दुखेसो पोखे।
लामो समयदेखि सरोकारवाला निकायको पटकपटक ध्यानाकर्षण गराएपनि कुनै निकायले वास्ता नगरेको,जति ज्ञापन पत्र बुझाउँदै आए पनि बाढीबाट प्रभावित क्षेत्रको समस्या समाधान नभएको, बाढी गएको ९ महिना बितिसक्दा पनि राज्यको ध्यान नपुगेको भन्दै राज्यको ध्यान नपुगेसम्म सबै काम बन्द गर्ने निर्णय भएको हेलम्बु बाढीपिडित सरोकार समन्वय समितिका उपाध्यक्ष अर्जुन भण्डारीले जानकारी दिए।
यसअघि पनि समितिले विभिन्न माग अगाडि सादै चैत १ गतेसम्म पनि नेपाल सरकार र मेलम्ची खानेपानी आयोजनाले आफूहरूको मागलाई सम्बोधन नगरे आयोजना बन्द गराउन बाध्य हुने चेतावनी दिएको थियो।


















