मार्च ८ : महिला दिवस र महिला हिंसा

168

– राज्यलक्ष्मी शाक्य

विश्वभर नै मनाइने मार्च ८, अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस । विश्वभर नै महिलासम्बन्धी विभिन्न गोष्ठी, कार्यक्रम गरी महिला हक अधिकारका बारेमा यस दिवसमा चर्चा गर्ने गरिन्छ । महिला दिवस कसरी सुरु भयो त ? यसबारे विभिन्न धारणा र तथ्य पाइन्छ । फरकफरक देशमा सुरु भएको महिला आन्दोलनपश्चात् भएका सभासम्मेलनले मार्च ८ लाई अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाउने निर्णय गरेको पाइन्छ । यस दिवसका अवसरमा मार्च महिनाभर महिलासम्बन्धी विभिन्न कार्यक्रमहरू हुने गर्दछ ।

नारी दिवसको इतिहास अर्थात् सुरुवातको कुरा गर्नुपर्दा सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट कलारा जेट्किन सेक्रेटरी भइन् । त्यसपछि १९०८ मार्च ८ को दिन अमेरिकाको शिकागो शहरमा महिलाहरूले समान अधिकारको माग लिएर महिलाहरूले हड्ताल र विशाल जुलुश प्रदर्शन गरे । महिला हक अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रूपमा ८ मार्चलाई महत्वपूर्ण दिनमा रूपमा मान्ने गरिएको छ ।

हरेक वर्षजसो महिला हिंसाविरुद्धको यो अभियान मनाइँदै आए पनि नेपालमा भने महिला हिंसामा कमी आउन सकेको छैन । नेपालको संविधानको धारा ३८ को उपधारा ३ मा महिलाविरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन । त्यस्तो कार्य कानून बमोजिम दण्डनीय हुनेछ र पीडितलाई कानूनबमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ भनिएको छ । महिलामाथि घरेलु हिंसा भएमा घरेलु हिंसा (कसुर र सजाय) ऐन, २०६६ को दफा १७ अनुसार ३ हजार रूपैयाँदेखि २५ हजार रूपैँयासम्म जरिवानाको व्यवस्था रहेको छ ।

राजनीतिलगायत राज्यका प्रमुख निकायहरूमा नारीलाई अवसर सृजना गरिएको छ । यद्यपि, धेरै स्थानमा कोटा सिष्टमका कारण नारीहरू पछाडि समेत परेका छन् । जस्तै स् हालै भएको स्थानीय निर्वाचनमा प्रमुख र उपप्रमुखमा एक जना महिला हुनैपर्ने बाध्यताका कारण अधिकांश नारीहरूलाई स्थानीय निकायको उपप्रमुखमा सीमित गरिएको छ । जब कि प्रमुखका लागि उठेका पदमा धेरैजसो महिलाहरू विजयी भएका छन् । यो तथ्यले नारीहरू पनि कार्यकारी भूमिका निर्वाह गर्न सक्षम छन्, पुरुषहरूसँग प्रतिस्पर्धा गर्न सक्छन् भन्ने तथ्यलाई स्पष्ट पार्दछ । तर, राजनीतिमा जस्तै अन्य स्थानमा पनि कोटाको सिष्टमका कारण केही असर देखिएको छ । मेरो भनाइको अर्थ कोटा प्रणालीको विरोध मात्र गर्नु होइन, तर नारीलाई कोटा सृजना गरेर थन्क्याउने होइन, उनीहरूलाई प्रतिस्पर्धा गर्नसक्ने बनाउनेतर्फ राज्यले ध्यान दिनुपर्छ ।

नारी दिवसमा सहरकेन्द्रित कार्यक्रम भयो भन्ने धेरै पहिलेदेखिको गुनासो हो र त्यो अहिलेसम्म पनि कायम छ । सहरमा भन्दा ग्रामीण भेकका महिलाहरू अझै पनि विभिन्न समस्याका कारण पीडित छन् । सामाजिक, पारिवारिक तथा शारीरिक समस्याका कारण उनीहरूको अवस्था दयनीय छ । त्यसकारण पनि ग्रामीण महिलाकेन्द्रित कार्यक्रम गर्न यस क्षेत्रमा क्रियाशील संघसंस्थाहरूको ध्यान दिन आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here