नेपाली राष्ट्रिय फुटबल टोलीकाे विदाइ

121

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टोलीलाई विदाइ गरेको छ।

आइतबार एन्फा कम्प्लेक्स सातदोबाटोमा एक कार्यक्रम गर्दै एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा, उपाध्यक्ष शिक्षित पराजुली र महासचिव इन्द्रमान तुलाधरलगायतका पदाधिकारीहरुले सोमबार थाइल्यान्ड प्रस्थान गर्ने खेलाडी तथा अफिसियललाई विदाइ गरेको हो।

विदाइ कार्यक्रममा बोल्दै एन्फाका अध्यक्ष शेर्पाले थाइल्यान्डको राष्ट्रिय टोलीसँग घरेलु मैदानमा दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलाउने कोसिस गरे पनि सफल हुन नसकेको जनाए ।

‘हामीले फिफा डेको सदुपयोग गर्न र एएफसी कपलाई फलदायी बनाउन हाम्रो राष्ट्रिय टोलीलाई थाइल्यान्ड पठाउन लागेका हौं। हामीले यो खेल नेपालमै आयोजना गर्ने तयारी गरेका थियौं। तर, उनीहरूको खेल तालिका तय भएको कारण थाइल्यान्ड पठाउन लागेका हौं,’ उनले भने।

उनले थाइल्यान्ड भ्रमण फलदायी हुने अपेक्षासमेत गरेका छन्। ‘हामीभन्दा बलियो टोलीसँग पनि अंक खोसेका छौं। त्यसैले थाइल्यान्डसँगको खेलमा जित हासिल गर्छौं भन्ने आशा राखेका छौं,’ उनले भने।

एएफसी एसियन कप छनोट तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली चैत दोस्रो साता थाइल्यान्डसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलसँग खेल्दैछ। थाइल्याण्डको राष्ट्रिय टोली र एक क्लबसँग हुने मैत्रीपूर्ण खेलका लागि नेपाली टोली बुधबारदेखि बन्द प्रशिक्षणमा सुरू गरेको थियोे।

१० चैत थाइल्यान्डको राष्ट्रिय फुटबल टोली र १३ चैतमा चोनबुरी एफसीसँग हुने दुई मैत्रीपूर्ण खेलका मुख्य प्रशिक्षक अबदुल्लाह अल्मुताइरीले २५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका थिए।

सोही अनुसार खेलाडीले बन्द प्रशिक्षणमा रहेर अभ्यास सुरू गरेका थिए। तर, वैदेशिक क्लबहरूमा अनुबन्ध भएर खेलिरहेका कप्तान तथा गोलरक्षक किरण चेम्जोङ, डिफेन्सिङ मिडफिल्डर रोहित चन्द र फरवार्ड जगजित श्रेष्ठ भने राष्ट्र टोलीको बन्द प्रशिक्षणमा उपस्थित भएनन्।

उनीहरू थाइल्यान्डसँगको भ्रमणमा भने सहभागी हुने एन्फाले जनाएको छ। यता, एएफसी कप छनोटको तयारी गरिरहेका कारण मच्छिन्द्रका खेलाडीलाई पनि मैत्रीपूर्ण खेलका लागि उपस्थित हुने छैनन्।

सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता मच्छिन्द्रले एएफसी कप छनोटमा श्रीलंकाको ब्लु स्टारविरुद्ध ५ अप्रिलमा प्रतिस्पर्धा गर्दैछ। मछिन्द्रले ब्लुस्टारविरुद्धको खेलमा जित निकाले १२ अप्रिलमा भारतको मोहन बगानविरुद्ध खेल्ने तालिका छ। समूह चरणमा स्थान बनाउन मच्छिन्द्रलाई मोहन बगानविरुद्धको खेल पनि जित्नुपर्ने हुन्छ।

नेपाल राष्ट्रिय टोलीले चीनमा सन् २०२३ मा आयोजना हुने एएफसी एसियन कपको तेस्रो चरणको छनोटको तयारीका लागि थाइल्यान्ड भ्रमण गर्न लागेको हो। छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ। यही समूहमा जोर्डन, कुवेत र इन्डोनेसिया जस्ता बलिया टोली रहेका छन्।

यो समूहका खेलहरू ८ जुनदेखि १४ जुनसम्म कुवेतमा हुनेछ। नेपालले आफ्नो पहिलो खेलमा जोर्डनसँग ८ जुनमा कुवेत सिटीमा प्रतिस्पर्धा गर्नेछ। यस्तै, नेपालले ११ जुनमा कुवेत र १४ जुनमा इन्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ। थाइल्यान्ड भने समूह ‘सी’ मा छ। यो समूहमा उज्वेकिस्तान, माल्दिभ्स र श्रीलंका पनि छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here