टर्कीमा विश्वकै लामो झोलुंगे पुल बनेको छ । यसले अब ५ घण्टाको दुरी केवल ६ मिनेटमै तय हुने भएको हो । यो टर्कीमा युरोपेली र एसियाली तट जोड्ने चौथो पुल हो । राष्ट्रपति तैयप एर्दोगानले टर्कीको डार्डानेल्स सडकमा एशिया र युरोपको बीचमा विशाल झोलुंगे पुलको उद्घाटन गरेका हुन् ।
एर्दोगानले भने,‘पुलको नाम र यसको उद्घाटनको दिन १८ मार्च १९१५ ले प्रथम विश्व युद्धमा ग्यालीपोली अभियानको हिस्साको रुपमा ओटोमन सैनिकको जीतको सम्झना दिलाउँछ । हामी सधै इतिहास र भविष्य जोड्ने बारेमा कुरा गर्छौ । आज हामी यसलाई गरिरहेका छौ ।’ इस्तानबुलमा १५ अर्बको नहरको परियोजना लन्च गरिएको थियो । एर्दोगानले यसलाई गत वर्ष लन्च गर्दै क्रेजी प्रोजेक्ट भएको बताएका थिए । यस परियोजनाको उद्देश्य व्यस्त बोस्फोसर जलडमरुमा भएको दबाब टाढा राख्नु रहेको थियो । यद्यपि आलोचकले टर्कीको आर्थिक संकट, पर्यावरणीय जोखिम र सार्वजनिक विरोधलाई हेर्दै परियोजनाको व्यवहारिकतामा सवाल उठाएका छन् ।
पुलको टावर ३१८ मिटर अग्लो र कुल लम्बाइ ४.६ किमी छ । हालसम्म अनातोलिया र ग्यालीपोली प्रायद्विपबीच यात्राका लागि ५ घन्टा लाग्दथ्यो भने पुलको निर्माण भएपछि केवल ६ मिनेटमा यात्रा गर्न सकिने भएको छ ।
















