एमसीसीको अनुदान सहयोगमा बन्ने विद्युतीय प्रसारण लाइनका लागि नुवाकोटको रातामाटेमा बन्ने सब–स्टेशनको जग्गा खाली गर्न सूचना

92

काठमाडौं । अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)को अनुदान सहयोगमा बन्ने विद्युतीय प्रसारण लाइनका लागि नुवाकोटको रातामाटेमा बन्ने सब–स्टेशनको जग्गा खाली गर्न सूचना जारी भएको छ।

मिलेनियम च्यालेञ्ज अकाउन्ट (एमसीए) नेपालले एक सूचना जारी गर्दै रातामाटेमा सबस्टेशन बनाउने क्षेत्रको जग्गा खाली गर्न भनेको हो। ४०० केभी रातामाटे सब–स्टेशनका लागि जग्गा अधिग्रण गर्न सबै प्रक्रिया पूरा भइसकेको भन्दै एमसीए नेपालले मुआब्जा लिएका सबै व्यक्तिले ३५ दिनभित्र जग्गा खाली गर्नुपर्ने जनाएको छ।

‘सब-स्टेशनका लागि आवश्यक जग्गा अधिग्रहण गर्न जग्गा प्राप्ति ऐन, २०३४ अनुसार जिल्ला प्रशासन कार्यालय, नुवाकोटबाट विभिन्न मितिमा सूचना प्रकाशन गरी मुआब्जा लगायत क्षतिपूर्ति तथा पुनर्वास सहायता रकमहरू समेत निर्धारण भइ सोको वितरण तथा जग्गाको लगत कट्टा एवं नामसारी समेत भइसकेको छ,’ एमसीए नेपालद्वारा जारी सूचनामा भनिएको छ।

सब-स्टेशन निर्माणका लागि तारबार गर्ने कार्यलाई अविलम्ब अगाडि बढाउनु परेकोले मुआब्जा लगायत क्षतिपूर्ति तथा पुनर्वास सहायता रकमहरू बुझिसकेका व्यक्तिले अधिग्रहण गरिएका घरजग्गा ३५ दिनभित्र खाली गर्नुपर्ने एमसीए नेपालले सूचनामा उल्लेख गरेको छ।

अमेरिकी अनुदानअन्तर्गतको (५० करोड डलर) रकमबाट ३९ करोड ८२ लाख डलर विद्युतीय प्रसारण लाइन निमार्णमा खर्च हुने छ।

परियोजनाअन्तर्गत ३१५ किलोमिटर लामो डबल सर्किटयुक्त ४०० केभी क्षमताको विद्युतीय प्रसारण लाइन निर्माण गरिने छ। प्रसारण लाइनअन्तर्गत नै ३ ठाउँमा ४०० केभी क्षमताको इण्डोर ग्यास इन्सुलेटेड सब–स्टेशन (जीआईएस) निर्माण गरिने छ।

नुवाकोटको बेलकोटगढी अन्तर्गतको रातमाटे, तनहुँको दमौली र नवलपरासी पश्चिममा सब–स्टेशन निर्माण गरिने छ। नुवाकोटको रातामाटे बाहेकका सब–स्टेशन नेपाल विद्युत् प्राधिकरणकै जग्गामा बन्नेछन्।

सम्झौता भएको झण्डै पाँच वर्षपछि संसद्‌बाट अनुमोदन भएपछि सम्झौताअन्तर्गतका परियोजनाहरु अगाडि बढाउन थालिएको हो। पहिलो चरणमा परियोजनाका लागि जग्गा प्राप्ति र वातावरण मूल्याङ्कनको काम सुरु भएको एमसीए नेपालले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here