अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा आज बिहीबार नेपाल र थाईल्याण्डबीच प्रतिस्पर्धा हुँदै

120

काठमाडौं । एएफसी एसिया कप २०२३ काे तयारी स्वरुप फिफा अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा आज बिहीबार नेपाल र थाईल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । फिफा वरीयतामा आफूभन्दा निकैमाथि रहेको बलियाे थाइल्यान्डविरुद्ध नेपाली राष्ट्रिय फुटबल टाेली बलियो चुनौती पेश गर्ने लक्ष्यसहितकाे तयारीमा छ ।

नेपाली समयअनुसार साझ पौने ६ बजे सुरु हुने उक्त खेल थाइल्याण्डको चोनबुरीमा खेलाईने छ । दुबै टोलीले एएफसी एसिया कप २०२३ को तेस्रो चरणको तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् ।

नेपाल तेस्रो चरणको समूह ‘ए’ मा रहेको छ । जुन समूहमा निकै बलिया देशका टिमहरु परेका छन् । साे समूहमा नेपालसँगै जोर्डन, आयोजक टिम कुवेत र इन्डोनेसिया छन् । यता, थाइल्यान्ड भने समूह ‘सी’ मा छ । समूह ‘सी’ मा उज्वेकिस्तान, माल्दिभ्स र श्रीलंका छन् ।

फिफा वरियताकै आधारमा हेर्दा र तुलनात्मक रुपमा नेपाल भन्दा बलियो देखिएको थाइल्याण्डविरुद्ध केही स्टार अनुभवी खेलाडी विना नेपाल किरण कुमार लिम्बूको कप्तानीमा मैदान उत्रनेछ । तर उल्मुताईरी उपलब्ध खेलाडीहरु माथि राम्राे नतिजा निकाल्नेमा विश्वस्त देखिएका छन् ।

हाल नेपाल फिफा वरियताको १६७औं स्थानमा छ भने थाइल्यान्ड ११२औं स्थानमा छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले सहिद स्मारक ए डिभिजन लिग विजेता मछिन्द्रले एफएसी कपका लागि तयारी गर्नु पर्ने भन्दै खेलाडीलाई रिलिज नगरेपछि केही नयाँ युवा खेलाडीसहितका २५ सदस्यीय टोलीको घोषणा गरेका थिए ।

मछिन्द्रले २२ चैतमा श्रीलंकाको सुपर लिग च्याम्पियन ब्लु स्टारसँग दशरथ रंगशालामा खेल्ने तालिका रहेका कारण क्लबका आधा दर्जन भन्दा बढि खेलाडी राष्ट्रिय टोलीमा सहभागि हुन पाएनन् ।

चर्चित खेलाडीहरु स्ट्राइकर विमल घर्ति मगर, मनिष डांगी, सुजल श्रेष्ठ, सुनिल बल, विशाल राई (बी), देवेन्द्र तामाङ, गोलरक्षक विशाल श्रेष्ठ, अभिषेक रिजाल, रेजिन धिमाललगायत खेलाडी मछिन्द्रसँग अनुबन्ध छन् ।

ती खेलाडीहरुकाे अनुपस्थितीमा अल्मुताइरीले युवा खेलाडी प्रशान्त अवस्थी, सुदिप गुरुङ, आकाश बुढा मगर, नविन गुरुङ र गोलरक्षक टिकेन्द्र थापालाई मैत्तीपूर्ण खेलमा ठूलाे मौका दिएका छन् ।

याे खेलसँगै अल्मुताइरीले नेपाली राष्ट्रिय फुटबल टिमका लागि १५औं खेल खेलाउँदै छन् । याे खेलपछि नेपालले थाइल्याण्डकै शीर्ष डिभिजनको चोनबुरी एफसीसँग १३ गते खेल्नेछ ।

नेपाली टिम : गोलरक्षकः किरण कुमार लिम्बू (कप्तान) टिकेन्द्र सिंह, दीप कार्की । रक्षकः रोहित चन्द, अनन्त तामाङ, नविन गुरुङ, दिनेश राजबंशी, गौतम श्रेष्ठ, पुजन उपरकोटी, सुमन अर्याल, सुदिप गुरुङ, सुरज जिउ ठकुरी ।

मिडफिल्डरः आयुष घलान, एरिक विष्ट, नितिन थापा, सन्तोष तामाङ, आकाश बुढा मगर, सुमन लामा, तेज तामाङ, सुमन लामा, सुभाष गुरुङ ।

स्ट्राइकरः आशिष लामा, प्रशान्त अवस्थी, अन्जन विष्ट, दर्शन गुरुङ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here