शंखमूलमा युवकमाथि खुकुरी प्रहार गर्ने पक्राउ

150

काठमाडौं ।  शंखमूलमा बुधबार एक युवकमाथि खुकुरी प्रहार गरेको घटनामा पाँच जना पक्राउ परेका छन्।

महानगरीय अपराध महाशाखाले खुकुरी प्रहार गरेको आरोपमा उनीहरूलाई बिहीबार पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए।

ललितपुरको महालक्ष्मी नगरपालिका बस्ने २५ वर्षीय सुरज खड्कामाथि बुधबार काठमाडौं महानगरपालिका-३१ स्थित शंखमूलमा एक समूहले खुकुरी प्रहार गरेको थियो।

खुकुरी प्रहारबाट गम्भीर घाइते खड्कालाई उपचारको लागि ट्रमा सेन्टर लगिएको थियो।

पक्राउ पर्नेमा दोलखा नाम्दु गाउँपालिका-६ घर भई जडिबुटी बस्ने ३४ वर्षीय रोशन लामा, भक्तपुर मध्यपुर ठिमी नगरपालिका-९ बस्ने २३ वर्षीय पुकार केसी, सिन्धुपाल्चोक बतासे-९ घर  भई भक्तपुर बस्ने २३ वर्षीय प्रविन लामा, मन्थली नगरपालिका-१३ बस्ने १९ वर्षीय राजेश बुढाथोकी र खाँडादेवी गाउँपालिका-३ घर भई जडिबुटी बस्ने सञ्जिब मोक्तान छन्।

यस घटनामा प्रयोग भएका तीन वटा मोटरसाइकल समेत बरामद भएका छन्। प्रहरी उपरीक्षक कोइरालाका अनुसार प्रारम्भिक अनुसन्धानमा प्रेम सम्बन्धि विवाद र आर्थिक लेनदेन कारण देखिएको छ।

फरार रहेका केहीको खोजी भइरहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here