पोल्याण्डको सीमा नजिक रहेको युक्रेनी शहर लभिभमा रुसले मिसाइल आक्रमण गरेको छ।
युरोप भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति जो बाइडेनले पोल्याण्डको वार्समा सम्बोधन गरिरहेको समय पारेर रुसले लभिभमा एक भन्दा बढी मिसाइल आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
युक्रेनको पश्चिमी शहर लभिभमा रुसले तीनवटा मिसाइल आक्रमण गष्रेको हो । एउटा मिसाइल कम्युनिकेशन टावर नजिकै खसेको थियो ।
यसैबीच लभिभका मेयर एन्ड्री साडोभीले लभिभमा भएको आक्रमण अमेरिकी राष्ट्रपति जो बाइडेनका लागि रुसी सन्देश रहेको बताएका छन् ।
उनले भनेका छन्, ‘मलाई लाग्छ आजको आक्रमण आक्रमणकारी (रुस) ले राष्ट्रपति बाइडेनलाई पठाएको सन्देश हुन सक्छ, जो अहिले पोल्याण्डमा छन् । लभिभ शहर पोल्याण्डबाट ७० किलोमिटरको दूरीमा पर्छ ।’
‘मलाई लाग्छ पूरा विश्वले थाहा पाइसक्यो होला कि जोखिम कति गम्भीर छ’, मेयर एन्ड्रीले भने।
आक्रमणमा मानवीय क्षति भएको छैन तर पाँचजनालाई अस्पताल लगिएको उनले जानकारी दिएका छन्।


















