बी डिभिजन लिगमा खुमलटारले श्री भगवतीलाई हरायाे

78

काठमाडौं । खुमलटार युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगअन्तर्गत बिहीबारको पहिलो खेलमा श्री भगवती क्लबलाई पराजित गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा खुमलटारले भगवतीलाई ४-२ गोलले पराजित गरेको हो।

खेलको २१औं मिनेटमा दिवस छन्त्यालले गरेको गोलबाट खुमलटार अग्रता बनाएको थियो। तर, ३१औं मिनेटमा सन्तोष केसीले गोल गर्दै भगवतीलाई खेलमा फर्काए।

यस्तै, ५५औं मिनेटमा दिवसले नै गोल गर्दै खुमलटारलाई पुन: २-१ को अग्रता दिलाए।

८३औं मिनेटमा सुरोज बस्नेत खुमलटारबाट तेस्रो गोल गर्दै खेल ३-१ को स्थितिमा ल्याए।

भगवतीका राजु गुरुङले खेलको इन्जुरी समयमा गोल गर्दै खेल ३-२ मा ल्याए।

खेल सकिन एक मिनेट बाँकी रहँदा प्रसन्न श्रेष्ठले चौथो गोल गरे।

जितसँगै खुमलटारले लिगको १०  खेलबाट १५ अंक जोडेको छ। यस्तै, समान खेल खेलेको श्री भगवतीको १४ अंक छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here