धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालन हुने

102

काठमाडाैं । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म नियमित रुपमा रेल सेवा सञ्चालनका लागि सबै तयारी पूरा भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिवार नयाँ दिल्लीबाट संयुक्त रुपमा ‘फ्लाग अफ’ गरी यसको उद्घाटन गर्ने कार्यक्रम छ ।
नेपालमा रेल सेवा सञ्चालनका लागि गत २०७७ असोज २ गते भारतबाट ८४ करोड ६५ लाखमा दुई सेट रेल खरिद गरिएको थियो ।

खरिद गरिएको डेढ वर्षपछि रेल सेवा सञ्चालन हुन लागेको हो । पहिले पुरानो प्रविधिको रेल सञ्चालनमा आए पनि आधुनिक प्रविधिको यो नै पहिलो रेल सेवा रहेको छ । यो रेल सेवा शुरू भएसँगै नेपालको रेल यातायाततर्फको अर्को यात्रा शुरू हुनेछ ।

शनिवार रेलमा दुवै देशका प्रतिनिधि सवार भएर भारतको जयनगरबाट नेपालको कुर्थातर्फ जाने रेल विभागका प्रवक्ता (सिनियर डिभिजनल इञ्जिनीयर) अमन चित्रकारले जानकारी दिए । अन्तरदेशीय रेल सेवाका रुपमा सञ्चालन हुने रेलमार्गमा जनकपुर आएपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवलगायतका व्यक्ति कुर्थासम्म जाने कार्यक्रम छ । उनी कुर्थासम्म पुगेर फर्किएर जनकपुर आउनेछन् भने रेल पुनः जयनगर जाने उनले जानकारी दिए ।

‘रेलगाडीले स्वागत गरेर कुर्थासम्म जानेछ,’ उनले भने । शनिवार उद्घाटन भएपछि आइतवारदेखि नै तालिकाअनुसार नियमित रेल चल्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक नीरञ्जन झाले बताए । उनका अनुसार दिनको दुई पटक आउने र दुई पटक जाने गरी समय तालिका निर्धारण गरिएको छ ।

जयनगरबाट ८:३० र ३ बजे छुट्नेछ भने कुर्थाबाट १०:३० र ५M१५ मा अर्को रेल छुट्ने उनले जानकारी दिए । भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको सो रेलमार्गमा सञ्चालनका लागि सरकारले दुई सेट ‘डेमो ट्रेन’ (डिजेल इलेक्ट्रिक मल्टिपल युनिट) ल्याइएको थियो ।

एउटा रेलमा एक हजार ३५० यात्रु यात्रा गर्न सक्ने महाप्रबन्धक झाले जानकारी दिए । यात्रुले आफ्नो साथमा साना झोला लैजान पाउने छन् । तत्काल सञ्चालनमा आउन लागेको यात्रुवाहक रेलगाडी हुन् । अहिले सञ्चालन हुन लागेको कुर्थाबाट जयनगरसम्मको रेलमार्गको निर्माण दुई वर्ष पहिले नै सकिएको थियो । हाल ३५ किमी लम्बाइमा रेल सञ्चालन हुनेछ । कुर्थादेखि बिजुलपुरासम्म थप १७ किमी रेलमार्गको निर्माण अन्तिम चरणमा पुगेको छ र त्यो सकिएपछि ५२ किमीमा रेल सञ्चालन हुनेछ ।

कुर्थाबाट बिजुलपुरासम्मको निर्माण झण्डै सकिएको र अबको दुईचार महिनामा रेल सञ्चालन गर्न सकिने विभागका प्रवक्ता चित्रकारले जानकारी दिए । ३५ किमीमा आठ ठाउँमा रेल रोक्न सकिने छ । नेपालले खरिद गरेको रेलगाडी छोटो दूरीमा रोकिन र सञ्चालन गर्न उपयुक्त हुने प्रवक्ता चित्रकारले बताए । यसले छोटो समयमा नै गति बढाउन र रोक्न सकिने हुन्छ । एउटा स्टेशनबाट चार पाँच किलोमिटरमा अर्को स्टेशन आउँछ । यसको डिजाइन स्पिड यात्रुवाहक गाडीमा एक सय किमी प्रतिघण्टा रहेको छ ।

मालवाहक गाडीमा भने ६५ किमी प्रतिघण्टा रहने उनले जानकारी दिए । उनले भने, ‘त्यही रेलमार्गमा यात्रु लैजाँदा चाँडो लैजान सक्ने भयो भने सामान लैजाँदा बढी समय लाग्दछ ।’ डेढ वर्ष पहिले आइपुगेको रेल विभिन्न समस्याका कारण सञ्चालन हुनसकेको थिएन । कहिले कर्मचारी नहुने त कहिले कानुनको अभावले गर्दा लामो समय रेल सेट उसै थन्किएको थियो । अहिले सबै किसिमका तयारी सकिएकाले सञ्चालनका लागि बाटो खुलेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here