राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेर निर्लज्जता प्रकट

123

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेर निर्लज्जता प्रकट गरेको बताएका छन्।

अर्थमन्त्री जनार्दन शर्माप्रति संकेत गर्दै अध्यक्ष ओलीले ‘अनुहारभरि रौँ भएको मुसोले अर्थतन्त्र बर्बाद पारे पनि एउटा सोझो भ्यागुतो जस्तो गभर्नरलाई सरकारले कारबाही गरेर’ निर्लज्जता प्रकट गरेको बताएका हुन्।

शनिबार काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले अर्थतन्त्र जोगाउन प्रयास गरिरहेका, अर्थतन्त्र बुझेका मान्छे अधिकारीलाई सरकारले गभर्नरबाट निलम्बन गरेर ‘बलिको बोको’ बनाउने काम गरेको आरोपसमेत लगाए।

उनलाई निलम्बन गरेर सरकारले ‘माओवादी केन्द्रको भनेर चिनिएका न्यायाधीश’को नेतृत्वमा छानबिन समिति बनाएको भन्दै ओलीले आपत्ति जनाए।

त्यसैगरी ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सशस्त्र युद्धमा ज्यान धरापमा पारेर हिँडेकाहरुलाई अनादर र उपेक्षा गर्दै आफ्ना भाइ नारायणप्रसाद दाहाललाई राष्ट्रियसभा सदस्य बनाएर नातावाद र कृपावादको चरम नमुना प्रस्तुत गरेको दाबी गरे।

ओलीले निर्वाचन आयोगले निर्वाचन आचारसंहिता जारी गर्ने बेला आफ्नो पार्टीलाई थर्काएको आरोपसमेत लगाएका छन् ।

सत्ता पक्षसँग मात्रै परामर्श गरेर जारी गरिएको निर्वाचन आचारसंहिता हस्ताक्षर गर्ने बेला आयोगले आफ्नो पार्टीका प्रतिनिधिहरुलाई ‘हस्ताक्षर नगरे नगर्नुस्’ भनेर थर्काएको बताए। ओलीले आफ्नो दलसँग परामर्श नगरी निर्वाचन आचारसंहिता जारी भए पनि त्यसको पूर्ण पालना गर्न आफ्नो पार्टी प्रतिवद्ध रहेको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here