काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारलाई असहयोग गरेका कारण गभर्नरलाई कारबाही गर्नुपरेको प्रष्ट पारेका छन् । गभर्नर निलम्बनको निर्णयपछि पहिलो पटक सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा कांग्रेस र माओवादी केन्द्रकै नेताहरूले त्यसबारे प्रसंग उठाएका थिए । जवाफमा प्रधानमन्त्री देउवाले गभर्नर हटाउने सरकारी निर्णय उपयुक्त भएको दाबी गरेका थिए ।
मन्त्रिपरिषद्को गत बिहीबार बसेको बैठकले गभर्नर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीशको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ समिति गठन गरेको थियो । लगत्तै गभर्नर अधिकारी निलम्बनमा परेका छन् । अधिकारीलाई निलम्बन गरिएको विषयमा चौतर्फी विरोध भएपछि सत्तारुढ गठबन्धन दलकै नेताहरूबीच मतभेद छ ।
बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङका अनुसार गभर्नर अधिकारीलाई निलम्बन गरेको प्रशंग उठ्दा सरकारले उनलाई हटाएर उपयुक्त निर्णय गरेको दाबी गरेका थिए । गभर्नर अधिकारीले अर्थमन्त्रीले चाहेजसरी काम गर्न नदिएको र असहयोग गरेको गुनासो गरेपछि सरकारले हटाएको देउवाको भनाइ थियो ।
‘अर्थमन्त्रीजीले मलाई गभर्नरले असहयोग गर्नुभयो भन्नुभयो । यस्तो बेलामा गभर्नरले सरकारलाई सहयोग गर्नुपर्ने थियो । त्यसैले सरकारको यो निर्णय ठीकै भो भन्ने लागेको छ,’ प्रधानमन्त्री देउवाले भनेका थिए । अर्थतन्त्र ओरालो लागेको बेला सरकारले गभर्नर हटाएकोमा पूर्वअर्थमन्त्रीहरू, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सत्तारुढ दलकै नेताहरूले आलोचना र विरोध गरेका छन् ।

















