काँग्रेसको दौराको फेर समात्ने वामहरु रसातालमा पछारिने छन्

54

–चन्द्रप्रकाश बानियाँ
स्थानीय चुनावको मिति मुखैमा आइपुग्यो । चुनाव सर्ने हल्ला पनि छ । समय बाँकी रहँदासम्म कानमा तेल राखेर सुत्ने, समय ढिम्किएपछि रोइकराई गर्ने भनेजस्तो चुनावको मिति पर सार्ने हो भने चुनाव लड्ने मनसाय चन्द पार्टीले व्यक्त गर्न थालेको छ । साँचै चुनावमा भागलिने हो भने स्वतन्त्र उमेदवारी दिए पनि हुन्छ । दुईचार पालिका जित्न कठिन पर्ने पार्टीलाई किन पार्टीकै हैसियत नाङ्गिनेगरी चुनाव लड्ने रहर जागेको होला कुन्नी ? यो चुनावले पार्टीको राष्ट्रिय हैसियत प्रदान गर्ने होइन । पार्टी दर्ता हुँदैमा देशभर एउटै चुनावचिन्ह लिएर लड्न पाइने पनि होइन । पार्टीले कति सिट जित्यो भनेर हिसाब निकाल्न विजयी उमेदबारहरुको नामसूचि खँगाल्नै पर्छ । ढुक्कसंग भन्न सकिने कुरा के हो भने चन्द पार्टीले गौरव गर्न मिल्ने संख्यामा स्थानीय प्रतिनिधिहरु जिताउन किमार्थ सक्तैन । उसले गर्न सक्ने अब्बल काम भनेको माओवादी केन्द्रको साइज घटाउने हो । त्यसका लागि न चुनाव आयोगमा पार्टी दर्ता हुनुपर्छ न देशभर एउटै चुनावचिन्ह लिएर चुनाव लड्नुपर्छ ।
अस्तिभर्खर चुनावको मुखैमा चन्द पार्टीले स्थानीय निर्वाचनमा प्रत्यक्ष सहभागी नहुने निर्णय गरेको कुरा सार्वजनिक भएको थियो । त्यसयता पार्टीको अर्को बैठक बसेको कुरा कतैबाट चुहिएको छैन । बैठक बसेर पनि सार्वजनिक नगरिएको होला भन्नुप¥यो । पार्टीले चुनाव लड्ने औपचारिक निर्णय गरेकै हुनाले चुनावको मिति सार्ने प्रस्ताव गरिएको होला । साँचै चुनावमा भागलिन चन्द पार्टी तयार भएकै हो भने २÷३ हप्ता निर्वाचन कार्यक्रम परसार्दा खासै फरक पर्दैन । विश्वसनीय कुरा हो भने चुनावमा भाग लिने चन्दपार्टीको धोको पूरा गरिदिनु देशको हितमा छ भन्न सकिन्छ ।
पाँच दलीय गठबन्धन “भ्यागुताको धार्नी” बन्ने कुरा लगभग स्पष्ट भैसकेको छ । साँचै गठबन्ध एकढिक्का बनेर चुनावमा उत्रिएका भए एमालेका लागि यसपटकको चुनाव निकै महङ्गो सावित हुनसक्थ्यो । त्यस्तो नभए पनि पार्टीफुटको कारण एमालेको साइज होचिने निश्चित छ । चन्दपार्टी चुनावमा सहभागी भएको खण्डमा एमालेलाई अलिकता राहत मिल्नेछ । चन्द्रपार्टी स्वभावतः एमालेसंग जोडिन रुचाउने छ । त्यसले काट्ने माकेको मतबाट आफै लाभान्वित हुन नसके पनि एमालेलाई फाइदा पुग्न सक्छ । समानान्तर गठबन्धनको नाममा चन्दको नामबाट थपिन आउने मत पनि एमालेका लागि भूतै कमारो भनेजस्तो हुनेछ । त्यसैले सधैंभरी चुनाव हुदैन न कि भनेर शंका उठाउने एमाले पनि चुनाव पछि सार्न तयार हुनेछ । पार्टीहरुलाई नाफा नोक्सान जे भए पनि चन्दपार्टीलाई चुनावमा सामेल गराउनसक्नु देशको संसदीय राजनीतिका लाग दीर्घकालीन फाइदाको विषय हो ।
तत्कालीन नेकपालाई विभाजित गराउनुमा कुन तत्वको कुन स्वार्थले भूमिका निर्वाह गरेको थियो भन्ने कुरा अव रहस्यको विषय रहेन । स्वभावतः फुट्नेहरु घाटामा पर्ने नै भए । त्यसमाथि माधव नेपालको भङ्गालो उछिट्टिएपछि ठूलो टुक्रो एमाले पनि स्वतः झन कमजोर हुने नै भयो । माके अलगियो, माधव नेपालका कारणले एमालेको हैसियत थप खुम्चियो । फुटको असर परेको छैन भन्नु दिउँसै रात पार्नु भनेजस्तो हो । त्यसको सोझो फाइदाको हकदार नेपाली काँग्रेस हुने नै भो । त्यसैले काँग्रेसमा एक्लै चुनाव लड्ने उत्साह जाग्नु स्वभाविकै हो । पाँच दलीय गठबन्धन काँग्रेसका लागि गलामा अड्किएको हड्डी सावित भएको छ । न निल्न सकिने न ओकल्न सकिने विचित्रको धर्मसङ्कटमा काँग्रेस परेको छ । सरकारका सहयात्रीहरुलाई स्थानीय निर्वाचनमा संगै लिएर हिड्ने मन छैन । वामहरु लथालिङ्ग भएको बेलाको अवसरको लाभ छोप्ने तिब्र इच्छा तल्लो कार्यकर्ता पंक्तिमा देखिन्छ । नेताजीहरुले त्यो कुरा नबुझेका त होइनन् तर “गुल्टोले डामिएको …………………, बिजुली चम्कँदा तर्सन्छ” भनेजस्तो एक्लाएक्लै चुनाव लड्ने कुरा आउनासथ अघिल्लो संसदीय निर्वाचनको नमिठो पराजयको सम्झना आइहाल्छ । वाम गठबन्धनको हातबाट धोवीपाट खानुपरेको कुराको स्मरणले उनीहरुको मुटु काम्न थालिहाल्छ । सत्ता साझेदारीमै रहेको माओवादी एमालेसंग मिल्न गैदिनाले आमनिर्वाचनमा काँग्रेसलाई हजार भोल्टको बिजुलीझट्का लागेको हो । त्यही परिस्थिति फेरि पनि दोहोरिदैन भनेर ढुक्क हुन नेपाली काँग्रेसको नेतृत्व सकेको छैन । त्यसैले वेमनसँग भएपनि गठबन्धनको डोरीमा लतारिनु परेको हो ।
नेपाली काँग्रेसको नेतृत्वले गठबन्धनका सहयात्री पार्टीहरुलाई साथ लिएरै चुनाव लड्ने निर्देशन गरेछ भने पनि तल्लो पंक्तिले मान्ने छैन भन्नेकुरा निश्चित छ । हो, आफूले एक्लै चुनाव जित्न सक्ने सम्भावना नरहेको ठाउँमा मात्र स्थानीयस्तरमा तालमेल गर्न स्थानीय काँग्रेस तयार हुनेछन् । त्यतिले गठबन्धनका सारथीहरुको पेट भरिने छैन । जुङ्गो रहने पनि छैन । नेताले बनाएको गठबन्धन कार्यकर्ताहरुले भत्काउने छन्, काँग्रेसी कार्यकर्ताहरुले गर्न चाहेको तालमेल माके र नेकपा समाजवादीलाई मान्य हुने छैन । यदि त्यस्तो परिस्थिति आयो भने बरु कार्यकर्ताहरुबीच तिक्त वातावरण नबनिसकेका ठाउँमा वाम तालमेल नहोला भन्न सकिन्न । त्यसो भयो भने एक्लै हिड्ने रहर गर्ने काँग्रेस “चौटाको लोभमा झोलमा डुबेर म¥यो” भनेजस्तो अवस्थामा नपुग्ला भन्न सकिन्न ।
एमालेले भन्ने गरेजस्तै एक्लाएक्लै चुनाव लड्ने हो भने परिणाममा सबै पार्टीहरुलाई फाइदा नै पुग्छ । संगठनको आधार बन्छ । पार्टी जनतामा स्थापित हुन्छ । तर एक्लै लड्ने हिम्मत प्रचण्ड र नेपालमा मात्र नभएको होइन, ओलीमा पनि छैन । राप्रपासंग साँठगाँठ नगर्ने हो भने ओलीको आफ्नै चुनावक्षेत्रमा तमासा देखिने छ । एमालेले चुनाव जित्न सक्ने छैन । वाम विभाजनबाट हौसिएका काँग्रेस र राप्रपासंग विभाजनबाट हतोत्साहित एमालेले मुकावला गर्न सक्ने छैन । त्यस्तो सम्भावना एमाले नेतृत्वको लागि रुचिकर हुने कुरै भएन । त्यसबाट जोगिनु झापा एमालेका लागि प्रतिष्ठाको विषय बन्ने छ र जसरी पनि चुनाव जित्नकालागि निर्विकल्प विकल्प लिङ्देल राप्रपा बन्ने छ । कमल थापासंगको सहयात्राले काम दिने छैन । लिङदेल राप्रपासंग जुनसुकै सर्तमा गठजोड गर्नुपर्ने वाध्यतामा एमाले पुग्ने छ । एमालेसंग चुनाव जित्ने आत्मविश्वास भएर होइन,गठबन्धन एकढिक्का बनी पो हाल्छ कि भन्ने सम्भावनाले सर्वाधिक तर्साएको छ । तर्सेको कुकुर झन जोडले भुक्छ । ओलीको बर्बराहट त्यसैको उदाहरण हो । एमालेको “होक्काँ” हरुवा गोरुको छेरुवा दाउ मात्र हो । खासगरेर काँग्रेसलाई एक्लै लड्न उक्साउने नियत हो ।
चुनावको मिति नजिकै ढिम्कियो । आम मतदाताहरुमा भने उत्साह देखिदैन । त्यसको अर्थ न स्थानीय सरकारहरुले जनतालाई रिझाउन सकेका छन् न त्यसको सम्भावित विकल्पप्रति नै जनतामा भरोसा र उत्साह छ । अहिले पनि अधिकांश स्थानीय पालिकाहरु काँग्रेस र एमालेबाट शासित छन् । अहिले कतै एउटा ठूलो होला, कतै अर्को ठूलो होला । परिस्थिति फेरिँदा पनि हुने कुरा त्यही हो । कुनै एउटा अलिकता बढ्ला, दोश्रोचाहीँ अलिकता खुम्चेला । न कसैको शक्ति बढ्दा फाइदा होला भन्ने भरोसा छ न कसैको शक्ति घटेकोमा खुसी हुने ठाउँ रहने छ । जनताले करबलमा परेर भए पनि मत दिनेछन् तर मतदानस्थलतिर लाग्ने जनताको गोडामा उत्साह र फूर्ति दृष्टिगोचर हुनेछैन ।
मतदाताहरुमा मात्र होइन, नेपाली काँग्रेसबाहेक बाँकी पार्टीहरुका कार्यकर्ताहरुमा पनि खासै उत्साह देखिदैन । हिजो मात्रै मेरा गाउँका पाका बन्धुसंग कुराकानी भएको थियो । ती मेरा पाका काका पञ्चायतकालमा नामचलेका पञ्चनेता हुन् । पटक पटक प्रधानपञ्च भै कामचलाएका काकामा समाजको मन पेट बुझ्ने क्षमता छ । उनको कुराले पार्टी कार्यकर्ताहरुको मनोविज्ञानको वास्तविकता खोल्दछ । उनले भन्दैथे – एमालेपंक्ति नुन खाएको कुखुरोजस्तो भएको छ । काँग्रेसका कार्यकर्ताहरुको दौड यतिखेर कसरी टिकट हत्याउने भन्ने धन्दामा केन्द्रित छ । गाउँपालिका अध्यक्षको टिकटाकांक्षीको संख्या दुई दर्जनभन्दा बढी छ । पार्टीलाई कार्यकर्ताहरुबीच समझदारी बनाउनै कठिन देखिएको छ । चुनाव जितिन्छ भन्ने आँकलनले कार्यकर्ताहरुलाई आफ्नो आमद हौसियत र कद बिर्साएको छ । चिट्टा परिहाल्यो भने अध्यक्ष भैहालिन्छ भनेर सबै हौसिएका छन् । टिकट पाउने एउटाले हो, एउटाले टिकट पाउँदा दुईदर्जन हिस्सिनु पर्छ । त्यसले निर्वाचनमा घाटा पु¥याउने छ । काँग्रेस भनेको कि पैसोले चल्छ कि पदले चल्छ । टिकट पाउने उमेदवार पैसावाल परेन भने काँग्रेसका लागि यो चुनाव फलामको च्युरा बन्ने छ । वामपन्थीहरु हिजै टुक्रा टुक्रा परेर लथालिङ्ग भएका छन्, टिकटको अस्वस्थ प्रतिश्पर्धाले काँग्रेसलाई पनि तितरवितर नबनाउला भन्न सकिन्न ।
ढिलोचाँडो साना पार्टीहरु खिइदै गएर एकदिन मासिने अवस्थामा पुग्नेछन् । एउटा कित्तामा काँग्रेस एक्लै उभिएको छ । अर्को कित्ता थिग्रिसकेको छैन । अघिल्ला दुईवटा चुनावले एमालेलाई दोश्रो धु्रव बन्ने सम्भावनाको पात्र बनाएको छ । जनताका लागि जस्ले जित्छ उही मेरो भाले भनेजस्तो हो । तर काँग्रेसको विकल्प एमाले बन्नु दुर्भाग्यको कुरा होइन भन्न सकिने अवस्था छैन । ओली एमालेले यतिखेर अख्तियार गरेको बाटो धुर दक्षिणपन्थतिरको हो । राप्रपा नामको पार्टी फस्टाउन नसकेको कारणले खाली हुनगएको स्थान एमालेले लिएको हो । हाम्रोजस्तो अविकसित र पिछडिएको मुलुकको लागि प्रगतिशील कार्यक्रम र कार्यदिशा भएको पार्टीको आवश्यकता हो । दक्षिणपन्थले मुलुकलाई भडखालोमा पार्ने हो । उबार्न किमार्थ सक्तैन । त्यसैले कमसेकम यतिखेरको एमाले विकल्प बन्नु हुदैनथ्यो । मेरा बाजेहरुले राणाशाही उत्तम भन्थे, पञ्चायत राम्रो देख्ने मेरा काकाहरुको पुस्ता जीवितै छ । अर्थात नेपाली मानसिकतामा यथास्थितिमा रमाउने प्रवृत्ति यथावत छ । त्यही कारणले ओलीको दक्षिणपन्थले मलामीको लस्कर जुटाउनु स्वभाविकै हो ।
मलामी लस्कर जति विशाल भए पनि त्यो अस्थायी भीड हो । मलामीको झुण्डमा सिर्जनात्मक चेत र भावना रहँदैन । एमालेले देशलाई पु¥याउने मसानघाटमै हो । उन्नति प्रगति उसको बुताको कुरै होइन । एमाले त एमाले भैहाल्यो, काँग्रेसको दौराको फेर समातेर वैतरणी पारलाग्ने आशामा झुण्डिने कथित वामहरु फस्टाउँछन् भनेर पत्याउन सकिदैन । यितखेर देशको सबभन्दा ठूलो शक्ति काँग्रेस हो । ठूलो रुखमुनिको सानो विरुवा कहिल्यै राम्रो हुदैन । यदि विकल्प शक्ति निर्माण गर्ने हो भने माके, नेकपा समाजवादी र समाजवादी जनतादलले एउटा अलग गठबन्धन बनाउनु जरुरी छ । देश र समाज रुपान्तरणमा महत्वपूर्ण र निर्णायक भुमिका निभाउने अभिलाषा राख्ने हो भने आजैबाट शक्ति निर्माणको अभियान थाल्नुपर्छ । यतिखेर काँग्रेसका पाखुरीमा झुण्डेर जुँगो जोगाइहालौैं, शक्ति निर्माण गर्दै गरौैंला भन्नु “भोलि घर बनाउन थाल्ने कहिल्यै नजुर्ने छेपारोको साइत” भनेजस्तै हो । जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here