नेपालका लागि एसिया कप चुनौतीपूर्ण : अल्मुताइरी

232

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाल एसिया कपका लागि छनोट हुन नसक्ने जनाएका छन् । एसिया कप छनोटका लागि आजदेखि नेपाली टिमले अभ्यास भने सुरु गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पहिलो दिनको प्रशिक्षण पछि संचारकर्मीसँग कुरा गर्दै मुख्य प्रशिक्षक अल्मुताइरीले अहिलेको स्तरले नेपालले एसिया कप खेल्नु भनेको एकदमै चुनौति रहेको पनि उल्लेख गरे ।  दक्षिण एसियाली खेल्ने राष्ट्रलाई एसिया कप खेल्ने कुरा ठूलै भएको जनाउँदै यहाँ र एसियाकपको स्तर निकै फरक हुने पनि उल्लेख गरेका छन् । अझै नेपाली फुटबलको स्तर सुधार गर्नका लागि धेरै बाँकी रहेको जनाउँदै केही हदसम्म आशावादी भने रहेको प्रष्ट पारे ।

अहिलेको अवस्थामा फुटबलको विकासका लागि ‘ग्रासरुट’मा फोकस गर्नुपर्नेमा पनि प्रशिक्षक अल्मुताईरीले जनाए । नेपाली टिमसँग धेरै खेलाडी नभएको र सिमिति खेलाडीबाट मात्रै टिम छनोट गर्दा अपेक्षाकृत सफलता हात नपर्ने पनि उल्लेख गरे ।

ग्रासरुट बलियो बनाउनका लागि देशभर फुटबल एकेडेमीको विकास र विस्तारमा लाग्नुपर्ने सुझाव पनि दिए । अहिलेबाट ग्रासरुटमा फोकस भएमा १० वर्षपछि मात्रै नेपाली फुटबलले प्रतिफल दिने पनि प्रष्ट पारे ।

उनले भने ‘अहिले नेपालबाट खेल्ने जम्मा ४५ जना खेलाडी छन् । यसबाट टिम बनाएर छनोट गरेर टिम बनाउन चाहन्न, मलाई कम्तिमा १५०–२०० खेलाडीबाट टिम बनाउने इच्छा छ ।’ नेपालले कुवेत जानुअघि कतारमा १० दिन अभ्यास गर्ने बताइएकाे छ ।

कुवेतमा हुने छनोटको समुह ’ए’ मा रहेको नेपाली टिमले पहिलो खेल जोर्डनसँग खेल्नेछ ।

जुन ८ तारिखदेखि १४ सम्म हुने प्रतियोगितामा जुन ८ मा नेपालले बलियो प्रतिद्वन्द्वी जोर्डनसँग खेल्नेछ भने दोस्रो खेलमा जुन ११ मा कुवेतको सामना गर्नेछ । यो बाहेक नेपालको समुहमा रहेको इन्डोनेसियासँग जुन १४ मा खेल्नेछ ।

पहिलो पटक तेस्रो चरणको छनोटमा पुगेको नेपाली फुटबल टिमलाई यो चरण पार गर्न निकै कठिन देखिएको छ । प्रशिक्षक अब्दुल्लाहले यहि प्रतियोगिताको तयारीका लागि यसअघि थाइल्याण्डमा मैत्रीपूर्ण खेलका लागि पनि लगेका थिए ।

बन्द प्रशिक्षणमा किरण कुमार लिम्बु, दीप कार्की, विशाल श्रेष्ठ, विमल घर्ति मगर, दर्शन गुरुङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विकास खवास, मनिष डाँगी, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज ज्यु ठकुरी, तेज तामाङ, विशाल राईलगायतका  खेलाडीहरूलाई बोलाइएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here