काठमाडौं । अर्थमन्त्री जर्नादन शर्माले केही व्यक्तिले देशको अर्थव्यवस्थालाई राजनीतिकरण गरेर चुनावी मुद्दा बनाएको आरोप लगाएका छन् । नेपाल उद्योग परिसंघका प्रतिनिधि मण्डलसँग सोमबार मन्त्रालयमा भेट गर्दै मन्त्री शर्माले प्रमुख प्रतिपक्षी दल एमालेतर्फ संकेत गर्दै यस्तो धारणा राखेका हुन् ।
परिसंघको टोलीसँगको भेटमा अर्थमन्त्री शर्माले श्रीलंकासँग नेपालको तुलना नै गलत भएको बताएका थिए । ‘नेपाल र श्रीलंकाको तुलनै हुँदैन, आफूले बारम्बार भन्दै आएको छु,’ अर्थमन्त्री शर्माले भने ‘केही व्यक्तिले देशको अर्थव्यवस्थालाई राजनीतिकरण गर्न खोजिरहेका छन् । चुनावी मुद्दा पनि बनाएका छन । ‘
भेटमा नेपाल उद्योग परिसंघका अध्यक्ष बिष्णुकुमार अग्रवालसहितको प्रतिनिधि मण्डलले आयातमा प्रतिबन्ध नलगाउन सुझाव दिएको थियो । परिसंघले विदेशी मुद्राको संचितीमा परेको चापबाट माथि उठ्नका लागि आयातमा प्रतिवन्ध लगाउनुको सट्टा करको दर बढाउने तथा आयातका लागि लिइने ऋणको ब्याजदरसमेत हेरफेर गर्नुपर्ने सुझाव दिएको अर्थमनत्रीलाई बुझाएको थियो ।
यस्तै सुनमा आधारित ऋणपत्र जारी गर्न, रेमिट्यान्सको निक्षेपमा अतिरिक्त २ प्रतिशत ब्याजदर दिन, गैरआवासिय नेपाालीलाई डलरमा खाता खोल्न आकषिर्त गर्नुपर्ने लगायतका सुझाव अर्थ मन्त्रीलाई दिएका थिए ।


















