धाँमीझाँक्रीको कुटपिटबाट कञ्चनपुरमा एक महिलाको मृत्यु

55

महेन्द्रनगर । रोग निको पार्ने बहानामा धामीझाँक्रीले ‘कुटपिट’ गर्दा कञ्चनपुरमा एक महिलाको मृत्यु भएको छ। जिल्लाको बेदकोट नगरपालिका–६ मुसेपानीकी ४२ वर्षीया रञ्चुला साउँदको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक श्यामसिंह चौधरीका अनुसार लामो समयदेखि बिरामी साउँदलाई झारफुक गर्न धर्मानन्द भट्ट र नारायणदत्त भट्ट घरमा आउने गरेका थिए। झारफुककै क्रममा साउँदको शुक्रबार राति मृत्यु भएको हो। मृत्युको घटनाबारे शनिबार बिहान मात्रै प्रहरीलाई जानकारी प्राप्त भएको थियो।

स्थानीयवासीका अनुसार धामीझाँक्रीद्वयले झारफुकका नाममा साउँदलाई सरिया तताएर कुटपिट गरेका थिए। प्रहरी उपरीक्षक (एसपी) चौधरीले झारफुकमा संलग्न भट्टद्वयलाई नियन्त्रणमा लिएको जानकारी दिए। मृतक महिलाको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा पुर्‍याइएको चौधरीले जानकारी दिए।

‘घटनाबारे विस्तृत अनुसन्धान हुँदैछ। दोषी जो कोही भए पनि कारबाहीको दायरामा ल्याइनेछ,’ एसपी चौधरीले भने।

बेदकोट नगरपालिकाका प्रमुख अशोककुमार चन्दले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको माग गरेका छन्। ‘धामीझाँक्री हल्दुखाल र बाराकुण्डाका हुन् भन्ने कुरा आएको छ,’ उनले भने, ‘बिरामीले थला परेकी साउँद तीन दिनदेखि गम्भीर हुँदा पनि धामीझाँक्री झारफुकमै लागेको भन्ने सुनियो।’ –रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here