काठमाडौं । बलात्कारको आरोपमा पक्राउ परेका अभिनेता पल शाहविरुद्ध उजुरी दिने नाबालिग गायिकाले आफ्नो बयान फेरेसँगै विभिन्न किसिमका टिकाटिप्पणीहरु आइरहेका छन्। यसबीच मानवअधिकारकर्मी मोहना अन्सारीले भने नेपालको फौजदारी न्यायमा कमजोर छिद्रहरु भएका कैयौं उदाहरण भएको र अहिलेको घटना पनि त्यसमा थपिने बताएकी छिन्।
यसले पीडितको समाजमा पुनःस्थापनामा थोरै भएपनि आश जगाएको उनले बताइन्। तर, जबरजस्ती करणी मुद्दामा पीडित आफैले लेखेर दिएको वा प्रहरीमा दर्ज गराएको बयानलाई तत्काल न्यायाधीश समक्ष सोही मिति र समयमा प्रमाणित नगराउनु पीडितमैत्री न्याय नभएको उनले बताइन्।
‘पीडितको समाजमा पुनःस्थापनामा थोरै भए पनि आश जगायो अब जबरजस्तीकरणी मुद्दामा पनि आफैले लेखेर दिएको वा प्रहरीमा दर्ज गराएको बयानलाई तत्काल न्यायधीश समक्ष सोही मिति समय प्रमाणित गराउनुपर्छ नभए पीडितमैत्री न्याय हुन्छ,’ उनी लेख्छिन्, ‘राज्यको कानूनको पीडितले नै खिल्ली उडाउनु जस्तो गम्भीर कुरा हुनबाट रोकिन्छ नभए बयान फेर्ने क्रम कहिल्यै पनि रोकिँदैन। नेपालको फौजदारी न्यायमा कमजोर छिद्रहरु छन् भन्ने उदाहरण कैयौं छन् र यो थपिँदै जान्छ।’
गत फागुन १५ मा पलले आफूविरुद्ध परेको बलात्कारको उजुरी र पक्राउ पुर्जी जारी भएपछि प्रहरी समक्ष आत्मसमपर्ण गरेका थिए। अदालतमा पलको बयान सकिएर पीडित नाबालिग गायिका र नाबालिग गायिकाको परिवारले अदालतमा बकपत्रका क्रममा बयान फेरेका हुन्। आइतबार जिल्ला अदालत तनहुँमा पलविरुद्ध दर्ता भएको जबर्जस्ती करणीको मुद्दामा नाबालिग गायिकाको परिवारले बयान फेरेका थिए।


















