बुटवल । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका बुटवल वडा नं. २ का वडाअध्यक्षका उम्मेदवार रमेश नेपालसहित ९ जनाविरुद्ध उजुरी परेको छ ।
वडाअध्यक्षमा उम्मेदवारी दिएका नेपाल गत चुनावमा एमालेबाट वडाअध्यक्ष निर्वाचित भएका थिए । २०७६ साल भदौ २१ गते नेपालले आत्महत्या गर्ने प्रयास गरेर अपराध गरेको तथा अख्तियारमा मुद्दा रहेको भन्दै उनीविरुद्ध उजुरी परेको छ ।
आत्महत्या गर्नु अपराध सरह हुने भन्दै स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार वडाअध्यक्षका उम्मेदवार नेपालविरुद्ध उजुरी परेको निर्वाचन कार्यालय स्रोतले जनायाे। यस्तै बुटवल उपमहानगरमा नेपालसहित पाँच जना वडाअध्यक्ष उम्मेदवारविरुद्ध उजुरी परेको निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ ।
निर्वाचन कार्यालयका अनुसार नेपाली कांग्रेसबाट बुटवल ११ को वडाअध्यक्षमा उम्मेदवारी दिएका जीतबहादुर मल्ल प्रगतिनगर खानेपानी तथा सरसफाइ संस्था तथा विद्युत सहकारी संस्थामा अध्यक्ष भएको भन्दै उजुरी परेको हो ।
यसैगरी कांग्रेसबाटै वडा न. ४ मा उम्मेदवारी दिएका नरिश्वर शर्माविरुद्ध टोल विकास संस्थाको अध्यक्ष भएको भन्दै उजुरी परेको छ । त्यसैगरी अन्य वडाअध्यक्ष र सदस्यहरुलाई टोल समिति, बस्ती विकास समितिमा रहेको र आर्थिक दुरुपयोग गरेको भन्दै उजुरी परेको हो । बुटवल निर्वाचन अधिकृतको कार्यालले मंगलबार साँझ पाँच बजेसम्म उजुरी गर्ने समय तोकेको थियो ।


















