तास आयातमा रोक

557

काठमाडौं । ९ महिनामै ९८ लाख ८ हजार ‘बुक’ तास (प्लेइङ कार्ड) आयात भएपछि सरकारले तासको आयात रोकेको छ । गत साउनदेखि चैतसम्म मात्रै नेपालमा १९ करोड ५५ लाख १० हजार रुपैयाँको तास आयात भएको छ ।

९ महिनाको अवधिमा तासबाट मात्रै सरकारले १० करोड २६ लाख रुपैयाँ भन्सार राजस्व उठाएको थियो ।

नेपालमा तास -प्लेइङ कार्ड)को प्याकेटको माग उच्च हुन्छ । दशैंतिहारमा कतिपयले जुवाका रुपमा त कतियले रमाइलोको रुपमा मात्रै तास खेल्ने प्रचलन छ । तर, यसरी खेलिने तास देशभित्र उत्पादन हुँदैन, यसका कारण वर्षमा करोडौं रुपैयाँ तास आयातमा खर्च हुने गरेको छ ।

बितेको पाँच वर्षमा मात्रै नेपालमा ६ करोड ६२ लाख प्याकेट तास आयात भएको छ । भन्सार विभागका अनुसार यो पाँच वर्षमा १ अर्ब ५ करोडको तास आयात भएको हो । चालु आर्थिक वर्षको तथ्यांक पनि जोड्ने हो भने आकडा करिब १ अर्ब २५ करोड रुपैयाँ पुग्छ ।

गत आर्थिक वर्ष २०७७/७८ मा मात्रै एक करोड ३४ लाख प्याकेट तास आयात भएको थियो । त्यति तास आयात गर्दा २७ करोड ४९ लाख बाहिरिएको थियो । आर्थिक वर्ष २०७६/७७ मा २३ करोड ५४ लाख मूल्यको १ करोड ३२ लाख प्याकेट तास आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।

आर्थिक वर्ष २०७५/७६मा अहिलेसम्मकै सबैभन्दा धेरै १ करोड ५७ लाख प्याकेट तास आयात भएको थियो । सो आर्थिक वर्षमा २५ करोड ६ लाख मूल्यको तास नेपाल भित्रिएको थियो । आर्थिक वर्ष २०७४/७५मा १४ करोड ५७ लाखको १ करोड २१ लाख प्याकेट तास भित्रिएको थियो । आर्थिक वर्ष २०७३/७४मा १ करोड १५ लाख प्याकेट तास १४ करोड ५६ लाख मूल्यमा आयात भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here