ललितपुर – कांग्रेसको शुभेच्छुक संस्थाको रुपमा रहेको नेपाली सांस्कृतिक संघले वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा कांग्रेसका पक्षमा मतदानको वातावरण तयार पार्ने चुनावी गीत सार्वजनिक गरेको छ।
‘कांग्रेसलाई जिताऔँ’ बोलको सो गीत वरिष्ठ गीतकार कृष्णहरि बरालको शब्द, वरिष्ठ संगीतकार शम्भुजित बास्काटाको संगीत, राधिका हमाल, सुजाता केसी, शशीविक्रम थापा र आलिन खानको स्वर तथा मनोज केसीको निर्देशनमा तयार भएको हो।गीतमा नेपाली कांग्रेसलाई मतदान गर्नुपर्ने कारणसहित नागरिकलाई रूख चिह्नमा मतदान गर्न अनुरोध गरिएको छ।
कांग्रेसको केन्द्रीय कार्यालय बीपी स्मृति भवन, सानेपा ललितपुरमा एक कार्यक्रमबीच गीतलाई नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सार्वजनिक गरेका थिए।चुनावी प्रतिस्पर्धामा कस्तो संस्कृति?’ विषयक विचार गोष्ठी तथा नेपाली कांग्रेसको विजय अभियानका लागि नेपाल सांस्कृतिक संघद्वारा तयार गरिएको चुनावी गीत तथा प्रचारप्रसार सामग्री सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री शर्माले निर्वाचनलाई लोकतान्त्रिक संस्कृतिअनुरूप बनाउन सात प्रस्ताव अगाडि सारेका छन्।
उनले चुनावमा प्रचारप्रसारलाई संयमित र मैत्रीपूर्ण बनाउनुपर्ने, विगतमा गरिएका गल्ती र कमजोरीबारे जनतासँग माफी माग्नुपर्ने, आलोचना सुन्ने संस्कार विकास गर्नुपर्ने, जनतालाई असम्भव सपना देखाउन नहुने, आचारसंहिता र संवैधानिक अधिकार पालना हुनुपर्ने, अपारदर्शी र फजुल खर्च रोक्नुपर्ने र निर्वाचनको परिणामलाई स्वाभाविक रुपमा स्वीकार्ने परम्परा थालनी गर्नुपर्ने बताए।
कांग्रेस महामन्त्री शर्माले निर्वाचनपछि पनि सबैले मिलेर नेपाली समाजको सुधार र विकासका लागि गर्नुपर्ने थुप्रै काम रहेको बताए। उनले दाइजो प्रथाको अन्त्य, जातीय भेदभाव र छुवाछुत अन्त्य र स्वदेशमा रोजगारीको सबाल निकै संवेदनशील रहेको बताए।
कार्यक्रममा कांग्रेस नेता गुरु घिमिरेले गीत र संगीतले सबैलाई मुग्ध बनाउने भएकाले कांग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघले चुनावी गीत ल्याएर प्रशंसनीय कार्य गरेको बताए। उनले नेपाली कांग्रेस लोकतन्त्रवादी दल भएको तर अन्य दलमा लोकतन्त्र र लोतान्त्रिक आचरणको कमी भएकाले नेपालमा लोकतान्त्रिक संस्कार बसाउन कठिन भएको उल्लेख गरे।
कार्यक्रममा नेपाल सांस्कृतिक संघका बुद्धिबहादुर राना, नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वउपकुलपति विष्णुविभू घिमिरे, गायिका राधिका हमालले पनि मन्तव्य व्यक्त गरेका थिए।
नेपाल सांस्कृतिक संघका अध्यक्ष तीर्थ थापाको सभापतित्वमा भएको उक्त कार्यक्रमको सञ्चालन संघका महासचिव शिवशंकर रिजाल (जोगेन्दर पानवाला)ले गरेका थिए।

















