मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी असन्तुष्ट १० खेलाडीलाई राष्ट्रिय टोलीमा नराख्ने

219
twitter sharing button

काठमाडौं ।  नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले असन्तुष्ट १० खेलाडीलाई राष्ट्रिय टोलीमा नराख्ने प्रष्ट पारेका छन्।

आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव इन्द्रमान तुलाधरलाई एक पत्र लेख्दै उनले असन्तुष्ट खेलाडीलाई राष्ट्रिय टोलीमा नराख्ने बताएका हुन्।

बन्द प्रशिक्षणमा रहेका नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्दलाई प्रशिक्षक अल्मुताइरीले पटक पटक क्याम्प छोड्न निर्देशन दिएको भन्दै विशाल राई, अनन्त तामाङ, विशाल श्रेष्ठ, अञ्जन विष्ट, सुजल श्रेष्ठ र विमल घर्तीमगरलगायतका १० खेलाडीले ‘विद्रोह’ गरेका थिए

नीहरू मंगलबार बेलुका होटलबाट बाहिरिएका थिए। नेपाली टोली त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरको बिजनेस होटलमा बसेको थियो। असन्तुष्ट १० खेलाडीले बिहीबार पत्रकार सम्मेलन गर्दै आफूहरु प्रशिक्षक अल्मुताइरीको प्रशिक्षणमा खेल्न नसक्ने बताएका थिए।

प्रशिक्षक अल्मुताइरीले आइतबार बिहान महासचिव तुलाधरलाई एक पत्र लेख्दै असन्तुष्ट खेलाडीलाई टोलीमा नराख्ने जानकारी दिँदै एसियन कप छनोटमा जस्तोसुकै नतिजा आएपनि आफू जिम्मेवार रहने बताएका छन्।

‘राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक र मुख्य छनोटकर्ताको हैसियतले टोली निर्माण गर्ने अधिकार र जिम्मेवारी दुवै मसँग छ,’ उनले भनेका छन्,’म एसिया कप २०२३ को छनोटमा राष्ट्रिय टोलीको प्रदर्शनको पूर्ण जिम्मेवारी लिन्छु भनेर पनि दोहोर्‍याउन चाहन्छु। मलाई आशा छ तपाईंले मेरो समस्या बुझ्नुहुन्छ र मलाई मेरो कर्तव्य पूरा गर्न मद्दत गर्नुहुन्छ।’

प्रशिक्षक अल्मुताइरीले आफूविरुद्ध ‘विद्रोह’ गरेका खेलाडीको विकल्पमा १७ नयाँ खेलाडी बोलाएर प्रशिक्षण थाल्ने बताएका थिए। तर, गोलरक्षक विकेश कुथुले भने सामाजिक सञ्जालमार्फत् आफू प्रशिक्षणमा सहभागी नहुने जानकारी दिएका थिए। एन्फाका अनुसार बोलाइएका १६ नयाँ खेलाडीले भने नियमित प्रशिक्षण गरिरहेका छन्।

पत्रमा प्रशिक्षक अल्मुताइरीले खेलाडीहरूलाई कारबाही नगर्न पनि एन्फालाई आग्रह गरेका छन्। ‘म खेलाडीहरूले मेरोविरुद्ध गरेको कार्यलाई लागि माफी दिन्छु। यी खेलाडीहरूलाई सजाय नदिनुहुन म तपाईं तपाईहरुलाई विनम्र आग्रह गर्दछु,’ उनले भनेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here