स्रष्टा सम्मान सम्पन्न

113

काठमाडौं  ।  दायित्व वाङ्‍मय प्रतिष्ठान, नेपालले आफ्नो २३ औँ वार्षिकोत्सवका अवसरमा स्रष्टा सम्मान, पुरस्कार अर्पण एवम् पुस्तक विमोचन गरेको छ।

दायित्व वाङ्‍मय विशिष्ट सम्मान–२०७९ बाट विजय सागर र विजय चालिसे, दायित्व वाङ्‍मय सम्मान–२०७९ बाट शङ्कर शाह र युवराज मैनाली, हरिकला–गुणाकर दायित्व रचना पुरस्कार–२०७८ बाट अनुराधा ढकाल, दायित्व मुरलीदेवी–गुरुदत्त काफ्ले स्मृति पुरस्कार–२०७९ बाट‚ हाम्रो बाल संरक्षण धरोहर नेपाल र दायित्व यशोदा पन्त प्रतिभा पुरस्कार–२०७९ बाट सम्पदा मल्ल पुरस्कृत र सम्मानित भए।

सो अवसरमा प्रमुख अतिथिले रामप्रसाद पन्तद्वारा लिखित ‘मेची मेरो महाकाली मेरो’ (नियात्रोपन्यास) कृति तथा ‘दायित्व ’ को १३५ औँ अङ्कको विमोचन पनि गरे।

कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले दायित्व वाङ्‍मय प्रतिष्ठानले विगत २३ वर्षदेखि गर्दै आइरहेको नेपाली वाङ्‍मयको सेवा र स्रष्टाहरूको सम्मानको प्रशंसा गर्नुका साथै काठमाडौँबाहिरबाट पनि स्रष्टाहरूलाई खोजेर सम्मान गर्ने दायित्व वाङ्‍मय प्रतिष्ठानको परम्पराको प्रशंसा गरे।

कार्यक्रममा सम्मानित स्रष्टाहरू सागर, चालिसे, शाह, मैनाली तथा पुरस्कृत प्रतिभा अनुराधा ढकालले मन्तव्यसहित रचना वाचन गरे। प्रा. डा. गोविन्दमानसिंह कार्कीले विमोचित कृतिका बारेमा प्रकाश पारेका थिए।

प्रतिष्ठानकी कार्यसमिति सदस्य डा. नम्रता पाण्डेले राज्यले पहिचान गर्न नसकेका राजधानी बाहिरका स्रष्टा र समाजसेवीलाई पहिचान गरी उनीहरूको मनोबल बढाउने, उत्प्रेरणा दिने र मानवीय संस्कार संरक्षण गर्नमा लागेका व्यक्तिलाई पुरस्कृत र सम्मान गर्ने प्रयास गरेको बताइन्।

त्यसैगरी संस्थाका अर्का सदस्य यादव भट्टराईले नेपाली वाङ्‍मयका क्षेत्रमा लामो समयदेखि साधनारत व्यक्तिहरूलाई पहिचान गरी उनीहरूको हौसला बढाउन प्रतिष्ठानले निरन्तर प्रयास गर्दै आइरहेको बताए।

‘समाजसेवाको एउटा माध्यम  र पहिचान बन्न सफल भएको छ दायित्व वाङ्‍मय प्रतिष्ठान’, उनले भने।

प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तले प्रतिष्ठान निरन्तर रूपमा दायित्व द्वैमासिक पत्रिका प्रकाशन गर्दै आइरहेको बताए। साथै, नेपाली भाषा, साहित्यमा योगदान दिन चाहने, कृति प्रकाशन गर्न चाहने, विमोचन गर्न चाहने तथा अन्य समाजसेवामा सहयोग गर्न चाहनेहरूका लागि सहजीकरणको भूमिका पनि प्रतिष्ठान रहेको पनि पन्तले जानकारी दिए ।

लुकेर रहेका प्रतिभाशाली स्रष्टाहरूको पहिचान गरी सम्मान तथा समाजमा परिचय गराउने सानो थालनी विगतदेखि गर्दै आइरहेको अध्यक्ष पन्तले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here