एमालेले ६० प्रतिशत भन्दा बढी पालिका जित्छ: वरिष्ठ उपाध्यक्ष पोखरेल

157

काठमाडौं, २६ वैशाख । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्थानीय तहको निर्वाचनमा एमालेले देशभर ६० प्रतिशत भन्दा बढी पालिकामा जित हासिल गर्ने बताएका छन् ।

काठमाडौंको टोखामा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले देशभरको लहर हेर्दा ६० प्रतिशत भन्दा बढी स्थानमा जित्ने बताएका हुन् । अहिले देशभर एमालेको लहर चलेको बताउँदै उनले एमालेलाई विजयी गराउन सबैमा अनुरोध पनि गरे । स्थानीय निकाय निर्वाचनमा काठमाडौं उपत्यकाको कमाण्ड सम्माहालिरहेका पोखरेलले परमादेशी गठबन्धन एमालेलाई हराउन लागे पनि एमाले भने आफू जित्न लागेकोले देशैभर लहर छाएको बताए ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई काँग्रेसमा प्रवेश गर्न सुझाव दिएका छन् । माओवादी केन्द्रले आफ्नो घोषणा पत्र समेत  जारी गर्न आवश्यक ठानेन, माओवादीले काँग्रेसले जारी गरेको घोषणा पत्र नै आफ्नो ठानेको छ । उनले भने ।

पाँचदलीय गठबन्धन राजनीतिक स्थायीत्वको विरुद्धमा तथा राष्ट्रिय स्वाधिनता र स्वतन्त्रताको विरुद्धमा रहेको पोखरेलको भनाइ छ । आफ्नो उम्मेदवार नजित्ने क्षेत्रमा बजेट नदिने प्रधानमन्त्री पत्नी आरजु देउवाको अभिव्यक्तिप्रति बिमति जनाउँदै पोखरेलले  सरकारी बजेट कसैको व्यक्तिको घरको सम्पत्ति नभएको बताए । सरकारी ‘बजेट तिनको घरको सम्पत्ति होइन्,  विकास निमार्णका लागि बजेट पाउने सबैको अधिकार छ’- उनले भने ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले टोखा नगरपालिकामा एमालेले ५ बर्षमा राम्रो काम गरेको उल्लेख गर्दै अत्याधिक मत दिएर एमालेका सबै उम्मेदवारलाई जिताउन आग्रह पनि गरे ।

चुनावी सभामा टोखा नगरपालिकाका एमालेका मेयर पदका उम्मेदवार प्रकाश अधिकारी, उपमेयरकी उम्मेदवार ज्ञानमाया डंगोलले आफूहरुले अघि सारेका विकास निर्माण, सामाजिक विकास तथा समृद्ध टोखा निर्माण अभियानलाई निरन्तरता दिन उम्मेदवार बनेको बताउँदै अत्याधिक मतका साथ विजयी गराउने टोखा नगरबासीलाई अनुरोध गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here