पाल्पाको रामपुर नगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ।
नगरका दश वडामध्ये हालसम्म तीनवटा वडाको मत गणना सकिएको छ । वडा नं १, २ र १० को मतगणनाको नतिजा सकिँदा नेपाली कांग्रेसका नगरप्रमुख उम्मेदवार रमणबहादुर थापा र उपप्रमुख बालकुमारी थापाको अग्रता कायमै छ ।
तीन वडाको मत परिणामअनुसार नगर प्रमुखमा थापाले दुई हजार ८३०, उपप्रमुखमा थापाले दुई हजार ८४१ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्द्वी नेकपा (एमाले)का प्रमुख उम्मेदवार शिव अर्यालले दुई हजार ६०४, उपप्रमुखमा दुर्गादेवी रानाले दुई हजार ५९३ मत पाएकी छिन्।
वडा नं १ र २ मा नेपाली कांग्रेसको प्यानल र १० मा नेकपा एमालेको प्यानल विजयी भएको छ । एक नम्बर वडाको अध्यक्षमा कपिलबहादुर खाँणले ९४७ मत ल्याई विजयी हुनुभएको छ । त्यस्तै वडा नं २ मा नेपाली कांग्रेसका कृष्णबहादुर दर्जी ७०२ मत प्राप्त गरी विजयी भएका छन्।
यस्तै वडा नं १० को अध्यक्षमा नेकपा एमालेका तोयानाथ सारु एक हजार ३६८ मत ल्याएर निर्वाचित भएका छन्। यहाँ अहिले वडा नं ३ र ९ को मतगणना जारी रहेको छ।

















