काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्राईले वर्तमान सरकारलाई राज्य संयन्त्रले नपत्याएको जनाएका छन् । आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताबारे बुधबारदेखि सुरु भएको छलफलमा बोल्दै भट्टराईले यस्तो आरोप लगाएका हुन् ।
खासगरी अर्थमन्त्रीले हरेक महिना १० प्रतिशत पूँजीगत खर्च गर्न दिएको निर्देशन मन्त्रालयहरुले नमानेको उल्लेख गर्दै उनले यस्तो आरोप लगाएका हुन् । अर्थमन्त्रीले संसदमा प्रस्तुत गरेको बजेटको सिद्धान्त र प्राथमिकतामा कुनै अग्रगति र ज्यान–प्राण नभएको उनले जनाए ।
वर्तमान सरकारको क्षमता र इच्छाशक्ति नै नभएको भन्दै उनले भने, ‘सरकार जति समय बस्छ, समयको बर्बादीबाहेक केही हुने छैन ।’ व्यापार घाटा डरलाग्दो भएको भन्दै यसको वैकल्पिक सिद्धान्त र प्राथमिकतामा नरहेको उनले बताए ।
अर्थतन्त्र बलियो बनाउने र विश्व अर्थतन्त्रसँग प्रतिस्पर्धी क्षमता राख्ने बनाउने कार्यक्रम नरहेको भन्दै उनले आलोचना गरे । वैदेशिक मुद्राको सञ्चिति डरलाग्दो रहेको भन्दै सञ्चिति बनाउने र मुद्रास्फिति घटाउने विकल्प दिन नसकेको उनले बताए । यसले मुलुक असफल राष्ट्र हुन्छ की भन्ने चिन्ता बढेको भन्दै उनले भने, ‘पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिका कारण खाद्यान्न, औषधीसहितको मूल्य बढेको छ, यसको विकल्प खै ?’
बैंकमा तरलता नहुँदा लगानीयोग्य आयोजना अन्यौलमा परेको उनले बताए । उद्योग धन्दा र व्यापार संकटमा परेको भन्दै उनले व्यापार व्यवसाय घट्दै रोजगारी सिर्जना नहुने र अर्थतन्त्र धरासायी हुने समेत भट्टराईको आरोप छ ।


















