काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि साधारण सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही जेठ २४ गतेदेखि प्रतिकित्ता रु १०० अंकित दरमा ६ करोड १२ लाख ७९ हजार ३०० मूल्य बराबरको ६ लाख १२ हजार ७९३ कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको हो ।
आयोजनाबाट असर पर्ने रुकुमपूर्वी जिल्ला र रुकुमपश्चिम जिल्लाका बासिन्दाले आगामी असार ७ गतेसम्म र सो अवधिमा मोजिम आवेदन नपरे असार २२ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम ६ लाख कित्ता सेयर खरिदका लागि आवेदन दिन पाउने कम्पनीले सार्वजनिक गरेको आह्वानपत्रमा उल्लेख छ ।
कम्पनीले रुकुम पूर्वी जिल्लाको सिस्ने र भूमे गाउँपालिका हुँदै बहने रुकुमगाड खोलामा पाँच मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । लगानी कर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।
साथै, ग्लोबल आईएमई बैंकको छिप्रीदह र मुसीकोट शाखा, सिद्धार्थ बैंकको पुथाउत्तरगंगा र मुसीकोट शाखा र प्रभु बैंकको मुसीकोट शाखा कार्यालयबाट आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ । कम्पनीलाई इक्रा नेपालले ‘इक्रनपी–आइआर बीबी प्लस’ ग्रेडिङ प्रदान गरेको छ । रासस

















