एकीकृत समाजवादीमा आन्तरिक विवाद उत्कर्षमा

56

काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी)मा आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । विवादको कारक भने मन्त्री पद हो । मन्त्री बन्‍ने समयसीमा ६ महिना भएको र २२ असोज २०७८ मा मन्त्री भएकाहरूलाई फिर्ता बोलाउन  पार्टीमा एकथरी सांसदहरूले नेतृत्वलाई चर्को दबाब दिइरहेका छन् । तर, पार्टीबाट मन्त्री बनेकाहरू सरकारबाट फिर्ता हुन चाहिरहेका छैनन् ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले न्युज कारखानासँग भनेका छन्, ‘हामीलाई फिर्ता बोलाउने र नयाँ मन्त्री पठाउने केही भएको छैन । भएको भए पो भन्‍नु । तपाईंहरूले केही नभई बारम्बार सोध्नुहुन्छ ।’ एकीकृत समाजवादीका खतिवडाको यो भनाइले मन्त्री पद छाड्न उनी पनि तयार छैनन् भन्ने पुष्टि हुन्छ । जबकि, पार्टी सचिवालय बैठकले उनको ठाउँमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री भवानीप्रसाद खापुङको नाम अघि सारेको छ ।

खतिवडासहित एकीकृत समाजवादीबाट देउवा नेतृत्वको सरकारमा चार जना मन्त्री र एक जना राज्यमन्त्री छन् । उनीहरूमध्ये खापुङको बढुवा, तीन जना मन्त्री र एक जना राज्यमन्त्रीको रूपमा नयाँ अनुहारको नाम सचिवालय बैठकले पठाएको छ । स्रोतका अनुसार एकीकृत समाजवादीमा झण्डै बहुमत सांसद संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयनमन्त्री प्रेमबहादुर आलेले ‘होल्ड’ गरेका छन् ।

उनी पनि सरकारबाट फिर्ता हुन चाहिरहेका छैनन् । उनको ठाउँमा पार्टी संसदीय दलका प्रमुख सचेतक जीवनराम श्रेष्ठको नाम सिफारिस भएको छ । यी दुई मन्त्री मात्र होइन, पार्टीबाट सरकारमा सहभागी अन्य मन्त्रीहरू पनि फिर्ता हुन चाहिरहेका छैनन् । सहरी विकास मन्त्रीको रूपमा सिफारिस भएका सांसद मेटमणि चौधरीले आजसम्ममा आफूसहित पार्टीले सिफारिस भएका नयाँ मन्त्रीहरूको शपथ ग्रहण हुने दाबी गर्दै आएका छन् ।

उनले बुधबार पनि सङ्‍घीय संसद् बैठकदेखि बाहिरिने क्रममा यही अभिव्यक्ति दोहोर्‍याएका थिए । यद्यपि, मन्त्री भएकाहरू फिर्ता हुन नचाहँदा पार्टीमा विवाद बढेको छ । विवादका कारण पार्टी अध्यक्ष माधवकुमार नेपाल अफ्ठ्यारोमा परेका छन् । झन उनको भन्दा पनि समाजवादीमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हस्तक्षेप देखिएपछि माधव नेपाल चिन्तित बनेका छन ।

आफैँ नेता हुँ नेता भन्दै भाषण गर्दै हिड्ने माधव नेपाल अहिले विचरा ठहरिएका छन । एउटा पार्टीको निर्णयमा अर्को पार्टीका नेताहरूले खेल्दा पनि नेपालले केही भन्न सकेका छैनन् । यद्यपी झलनाथ खनाल र बेदुराम भुसालहरूले चर्को असन्तुष्टि जनाएका छन । तर माधव नेपाल भने पछिल्लो समय चुपचाप रहेका छन । उनले केही पनि प्रतिक्रिया दिएका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here