काठमाडौं ।– प्रतिनिधि सभा सदस्य विद्या भट्टराईले प्रकोप निराकरणका लागि आवश्यक संयन्त्र र संरचना निर्माणका लागि सरकारको ध्यानाकर्षण गराएकी छन्।
आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य भट्टराईले सरकारलाई प्रकोप निराकरण र व्यवस्थित पुनर्निर्माणका लागि आवश्यक संयन्त्र र संरचना निर्माणका लागि सरकारको ध्यानाकर्षण गराएकी हुन्।
उनले कास्की क्षेत्र नं. २ का विभिन्न स्थानहरु भूक्ष्य र पहिरोको जोखिममा रहेकाले ती क्षेत्रको संरक्षण गर्ने योजना ल्याउन सरकारसँग माग गरिन्।
उनले भनिन्, ‘प्रकोप निराकरण र व्यवस्थित पुनर्निर्माणका लागि आवश्यक संयन्त्र र संरचना निर्माणका लागि सरकारको ध्यानाकर्षण गर्दछु। भूक्ष्य र पहिरोबाट कास्की क्षेत्र नं. २ अन्तर्गत दोबिला, दम्सादी, छोरेपाटन, भलाङ, अर्मला क्षेत्रहरु अत्यन्तै जोखिममा छन्। यि क्षेत्रहरुको तत्काल संरक्षण र दिगो विकासका कार्यक्रम र योजना ल्याउन सरकारसँग जोडदार माग गर्दछु।’
प्रतिनिधि सभा सदस्य विनाकुमारी श्रेष्ठले बालश्रम उन्मूलन गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताइन्। उनले उद्योगहरुलाई बालबालिकालाई श्रममा नलगाइ अन्तर्राष्ट्रिय प्रतिवद्धता र राष्ट्रिय कानुन कार्यान्वयमा सहयोग पुर्याउन अनुरोध गरिन्।
यस्तै प्रतिनिधि सभा सदस्य लक्ष्मी परियारले विद्यार्थीहरुलाई तत्काल पाठ्यपुस्तक दिलाउन शिक्षामन्त्रीलाई आग्रह गरिन्। उनले किसानहरुलाई मल र बिउ सहज रुपमा दिलाउन पनि सरकारसँग माग गरिन्।
प्रतिनिधि सभा सदस्य विनादेवी बुढाथोकीले रासायनिक मलको अभावले किसानहरु चिन्तित हुनुपरेको बताइन्। उनले तराईका किसानले भारतबाट मल किनेर ल्याउँदा सीमाना दुःख पाएको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराइन्।
प्रतिनिधि सभा सदस्य लालप्रसाद सावा लिम्बुले नागरिकता विधेयकलाई तत्काल संसदबाट पारित गरी जन्मसिद्ध नागरिकका छोराछोरीलाई नागरिकता पाउने व्यवस्था गर्न माग गरे।
यसैगरी, प्रतिनिधि सभा सदस्य शक्ति बहादुर बस्नेतले सडक दुर्घटनाहरुलाई न्यूनीकरण गर्न सडकको मापदण्डलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताए। उनले सबै सडकहरुको स्तरोन्नतिलाई प्राथमिकता राख्न सरकारलाई आग्रह गरे।
बस्नेतले भने, ‘वर्षेनी हुने दुर्घटनाहरुलाई न्यून गर्न संघ, प्रदेश र स्थानीय तहबाट निर्माण गरिने सडकको मापदण्डको प्रभावकारी कार्यान्वयन र हरेक वडाको केन्द्रसम्ममा सबै मौसममा यातायात सुचारु हुनसक्ने गरी सडकहरुको स्तरोन्नतिलाई प्राथमिकतामा राख्न म विशेष आग्रह गर्दछु। साथै मनसुन सुरु हुँदैछ। विपतको रोकथाम, उद्धार र पुनर्स्थापनाको लागि पूर्वतयारीको कामहरु के कस्तो भइरहेको छ यसबारेमा आवश्यक सदनलाई जानकारी गराउन सरकारसँग आग्रह गर्दछु।’
प्रतिनिधि सभा सदस्य शेरबहादुर तामाङले सरकारले सिन्धुपाल्चोक जिल्लालाई संकटग्रस्त जिल्ला घोषणा गरेर ६ अर्बभन्दा बढी रकम विश्व बैंकबाट प्राप्त गरेको भए पनि सिन्धुपाल्चोकमा खर्च नगरेको बताए। उनले सो रकम सिन्धुपाल्चोकमै खर्च गर्न माग गरे।
उनले भने, ‘नेपाल सरकारले सिन्धुपाल्चोकलाई संकटग्रस्त जिल्ला घोषणा गर्यो । सबै संकटग्रस्त जिल्ला घोषणा गर्दा विश्व बैंकबाट करिब साढे ६ अर्बभन्दा बढी पैसा प्राप्त गरेको देखिन्छ। तर, त्यो क्षेत्रमा अहिलेसम्म कुनै काम गरिएको छैन। अहिले पनि ३ वटा पालिकामा कनेक्टिभिटी नै टुटिसकेको छ। यो रकम अन्तै तलबभत्तामा खर्च गर्यो कि? जिल्लाका नाममा आएको पैसा त्यहीँ खर्च गरियोस्।’
यस्तै, प्रतिनिधि सभा सदस्य डा. सूर्यप्रसाद पाठकले दलितहरुको शैक्षिक प्रमाणपत्र र नागरिकताको थरमा एकरुपता ल्याइदिन सरकारसँग आग्रह गरे।
उनले कामी, दमाई, सार्कीले आफ्नो थर राखेर नागरिकता लिन पाउने व्यवस्था अविलम्ब गरिदिनका लागि सरकारको ध्यानाकर्षण गराए। rss

















