साताको पहिलो दिन सेयर कारोबारमा कीर्तिमान कायम

83

काठमाडौं/धितोपत्र कारोबार हुने  साताको पहिलो दिन आइतबार सेयर कारोबारमा कीर्तिमान कायम भएको छ। यो दिन हाल सम्मकै सर्वाधिक १९ अर्ब ५५ करोड रुपैयाँको सेयर किनबेच भएको छ। यो कारोबार रकम अहिलेसम्मकै अत्याधिक हो। यसअघि जेठ २३ मा १७ अर्ब २७ करोडको नयाँ कारोबार कीर्तिमान बनेको थियो।

जेठ महिनामै १५ अर्बमाथिको कारोबार कीर्तिमान बनेयता जेठ १६ मा त्यो तोडिँदै १७ अर्ब तीन करोड रुपैयाँको अर्को नयाँ कीर्तिमान बनेको थियो। उक्त कीर्तिमान आइतबार तोडिएको छ। सेयर कारोबार ऐतिहासिक हुँदा आज झन्डै ४० कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेकर लागेको छ।

सर्किट लाग्ने धेरैजसो कम्पनी फाइनान्स, विकास बैंक र जलविद्युत कम्पनीहरु छन्। बजार सूचक नेप्से पनि ३८.३२ अंकले बढ्दा २९८३.११ मा पुगेर थामिएको छ। केही दिनअघि मात्र नेप्सेले तीन हजार अंकको विन्दु पार गर्दै ३००६ हाराहारी पुगेर पुनः फर्किएको थियो।

आज नेप्से उपसमूहमा रहेका १३ समूहमध्ये ७ वटामा हरियाली छाएको छ भने ६ वटामा रातो पोतिएको छ। यो दिन विकास बैंक समूह सर्वाधिक ८.२४ प्रतिशतले उकालो लागेको छ।

वित्त समूह ७.१४ प्रतिशतले बढेको आज जलविद्युत समूहमा ६.१ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ४.७३ प्रतिशत, लगानी समूहमा २.३८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.९८ प्रतिशत र बैंकिङ समूहमा ०.४२ प्रतिशतको बढोत्तरी भएको छ।

यो दिन व्यापार समूह सर्वाधिक १.०६ प्रतिशतले ओरालो लागेको छ। जीवन बीमा समूह ०.७९ प्रतिशतले घटेको आज निर्जीवन बीमा समूहमा ०.१५ प्रतिशत, अन्य समूहमा ०.३८ प्रतिशत, लघुवित्त समूहमा ०.३८ प्रतिशत र म्युचुअल फन्ड समूहमा ०११ प्रतिशतको गिरावट आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here