काठमाडौं । पाकिस्तानको सरकारले आफ्ना नागरिकलाई चिया कम खान आग्रह गरेको छ।
पछिल्लो समय अर्थतन्त्र कमजोर बनेको भन्दै आयात घटाउन सरकारले चिया कम खान मानिसहरुलाई आग्रह गरेको हो।
पछिल्लो समय पाकिस्तानको वैदेशिक मुद्रा सञ्चितिमा गिरावट देखिएको छ। अहिलेको पाकिस्तानको वैदेशिक मुद्रा सञ्चितिले दुई महिनाको मात्र आयात धान्न सक्ने अवस्था छ।
पाकिस्तान विश्वको सबैभन्दा धेरै चिया आयात गर्ने देश हो। गत वर्ष मात्र पाकिस्तानले ६० करोड डलरबराबरको चिया आयात गरेको थियो।
पाकिस्तानका वरिष्ठ मन्त्री अहसन इक्वालले मानिसहरुलाई एक दिनमा एकपटक वा दुईपटक मात्र चिया खान आग्रह गरेका छन्। उनले व्यवसायीहरुलाई पनि ऊर्जा बचतको लागि बेलुका साढे ८ बजेबाट आफ्नो व्यवसाय बन्द गर्न आग्रह गरेका छन्।
पाकिस्तानको वैदेशिक मुद्रा सञ्चिति गत फेब्रुअरी महिनामा करिब १६ अर्ब डलर रहेकोमा जुनको पहिलो सातामा १० अर्ब डलरमा झरेको छ। गत महिना कराँचीमा दर्जनभन्दा धेरै विलासी वस्तुहरुको आयातमा रोक लगाउने निर्णय गरिएको थियो।