नागरिकता विधेयक अगाडि बढाउन केपी ओलीसँग गृहमन्त्री खाण र कानुन मन्त्री कोइरालाबीच भेट

100

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले भेट गर्नुभएको छ । अध्यक्ष ओली निवास भक्तपुर बालकोटमा भएको भेटमा नागरिकता विधेयक चालू संसद्मा दलीय सहमतिमा अगाडि बढाउने विषयमा कुराकानी भएको बताइएको छ ।

नागरिकता विधेयक सदनमा अगाडि बढाउने र दलीय सहमतिमा पारित गर्ने प्रयासस्वरुप म र कानुनमन्त्री प्रमुख प्रतिपक्षी दलका नेता एमाले अध्यक्ष ओलीलाई भेट्न गएका थियौँ । कुराकानी सकारात्मक भएको छ गृहमन्त्री खाणले भन्नुभयो ।

सरकारले दलीय सहमतिमा नागरिकता विधेयक संसद्मा पेस गरेर पारित गर्ने तयारी गरिरहेको छ । त्यसकैलागि गृहमन्त्री खाण र कानुनमन्त्री शर्माले एमाले अध्यक्ष ओलीलाई भेट्नु भएको हो । गृहमन्त्री खाणले नागरिकता विधेयकबारे पटक–पटक दलहरूसँग छलफल गर्नुभएको छ । उहाँहरूले यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग पनि नागरिकता विधेयक सदनमा दलीय सहमतिमा पेस गर्न सहमति जुटाउनेगरी भेट्नुभएको छ ।

नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले पास गरेर प्रतिनिधि सभामा पेस गरेको छ । नागरिकतामा नेपाली पुरुषसँग विवाह गरी आउने विदेशी महिलालाई दिने अंगिकृत नागरिकता लगायतमा दलहरूबीच सहमति जुट्न सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here