आठराई गाउँपालिकाका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था

90

तेह्रथुम  । पछिल्लो समय खस्किँदै गरेको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका निम्ती विभिन्न्न स्थानीय तहले विद्यार्थी केन्द्रित कार्यक्रम बनाउन थालेका छन् । ६ वटा स्थानीय तह रहेको तेह्रथुम जिल्लाको आठराई गाउँपालिकाले विद्यार्थीलाई नियमित विद्यालयमा उपस्थित गराउनका लागि दिवा खाजाको व्यवस्था गरेको छ ।

विद्यार्थीलाई नियमित विद्यालयमा उपस्थित गराउन तेह्रथुमको आठराई गाउँपालिकाले सञ्चालन गरेको दिवा खाजा कार्यक्रम प्रभावकारी बन्न थालेकोे छ । अघिल्लो आर्थिक वर्षबाट सुरु गरिएको यो कार्यक्रमले गाउँपालिकाभित्र रहेका ५६ वटा सामुदायिक विद्यालयका ५ कक्षासम्मका विद्यार्थीलाई दिवा खाजा कार्यक्रमले यतिबेला शैक्षिक विकासमा टेवा पुगेको बताइएको छ ।

गाउँपालिकाले दिवा खाजाको कार्यक्रम सुरु गरेपछि विद्यालयमा अध्ययन अध्यापनमा सहजता मिलेको शिक्षकहरूको अनुभव छ । पहिले बिहान बासी भात मात्र खाएर आएको छु, भन्दै बिदा माग्ने विद्यार्थी पनि विद्यालय समयसम्म बस्न थालेका छन् । दिवा खाजा कार्यक्रमले शैक्षिक गुणस्तरमा सुधार गरेकोे महेन्द्राेदय आधारभूत विद्यालय, थोक्लुङका प्रधानाध्यापक नन्द तामाङले बताउनुभयो । उहाँले भन्नुभयो, “खाजाको कारण शतप्रतिशत विद्यार्थी विद्यालय आउन थालेका छन् ।”

गाउँपालिकाले हाजिरीको आधारमा कक्षा १ देखि ५ कक्षासम्मका प्रत्येक विद्यार्थीलाई खाजावापत प्रतिदिन २० रुपियाँ उपलब्ध गराउँदै आएको छ । उक्त रकम अभिभावकले पाउने भएपछि आफ्ना नानीलाई दैनिक रूपमा खाजाको व्यवस्थापन हुन थालेको छ । खाजा पाएपछि विद्यार्थीले मन लगाएर पढ्ने र अतिरिक्त क्रियाकलापमा पनि सहभागी हुने गरेका स्थानीय रामबहादुर लुम्बाले बताउनुभयो ।

गाउँपालिका क्षेत्रभित्र रहेका सम्पूर्ण सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन भएपछि निजी विद्यालयमा विद्यार्थी सङ्ख्या दिन प्रतिदिन घट्दै गएको र सामुदायिक विद्यालयमा बढ्दै गएको पाइएको छ । खाजा कार्यक्रमलाई प्रभावकारी बनाउनका निम्ती सामाजिक संस्था देउराली सोसाइटीले विभिन्न विद्यालयका विद्यार्थीलाई खाजा खाने टिफिन बट्टासमेत वितरण गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here