प्लेन चढ्नका लागि एअरपोर्ट जानुपर्ने दिनको अन्त्य : मन्त्री आले

41
डोटी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमका नागरिकले काठमाडौँमा सोधेर जहाज कतिबजे आउँछ ? भनेर प्लेन चढ्नका लागि एअरपोर्ट जानुपर्ने दिनको अन्त्य भएको दावी गरेका छन् ।

कैलाली । धनगढीमा रहेको गेटा विमानस्थलमा निर्माण गरिने टर्मीनल भवन सुधार, व्यागेज हेन्डलिङ सिस्टम, वाटर फाउन्टेन, क्यानटिन र गेट निर्माण कार्यको शिलान्यास गर्दै मन्त्री आलेले सुदूरपश्चिमका यात्रुले प्लेन आउने नआउने विषयमा काठमाडौँबाट जानकारी लिनुपर्ने अवस्थाको अन्त्य भएको बताएका हुन् ।

आलेले भने, ‘जहाज सञ्चालन कम्पनीले जहाँबाट वेस लिएको छ, यहिबाट पहिलो उडान भर्नु पर्ने नियम लागु गराएको छु, अब धनगढीबाट पनि पहिलो उडान हुने छ, जहाज आउने नआउने बारे काठमाडौँमा सोध्नु पर्ने छैन् ।’

भोली असार १३ गतेबाट लागु हुने गरी आफ्नो बेस लिएका ठाउँबाट विमान सञ्चालक कम्पनीहरुले आफ्नो पहिलो उडान भर्नु पर्ने निर्णय लागु भएको जानकारी गराउँदै मन्त्री आलेले अब गेटा विमानस्थलबाट पनि पहिलो उडान हुने बताए ।

उनले गेटा विमानस्थलको स्तरोन्नतीसहित क्षेत्रीय अन्तर्राष्ट्रियस्तरको बनाउनका लागि शुभारम्भ कार्य भएको बताए । ती संरचना निर्माणका लागि आन्तरिक स्रोतबाट रु १ अर्ब बजेट विनियोजन भएकाले तोकिएको समयमै निर्माण कार्य सम्पन्न गर्न समेत निर्माण व्यवसायीलाई आग्रह गरे ।

सुदूरपश्चिममा पर्यटन प्रवर्द्धन तथा यहाँको विकासका लागि भएपनि गेटा विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउन जरुरी भएको समेत मन्त्री आलेले बताए । उनले भने, ‘सुदूरपश्चिमका पर्यटकीय क्षेत्रमा पर्यटक भित्रााउन र प्रचार प्रसारका लागि भएपनि यो विमानस्थल क्षेत्रीय अन्तर्राष्ट्रियस्तरको बनाउन जरुरी छ । आज शिलान्यास कार्यको शुभारम्भ भएको छ । चाँडै नै यो विमानस्थलले पूर्णता पाउने छ ।”

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अध्यक्ष समेत रहेका मन्त्री आलेका अध्यक्षतामा बसेको बैठकले यसअघि गेटा विमानस्थल विस्तारका लागि रु १ अर्ब बजेट विनियोजन गरेको थियो । क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास गर्नका लागि जग्गा अधिग्रहणको काम अगाडि बढाउन उक्त बजेट विनियोजन गरिएको होे ।

गेटा विमानस्थल क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउनका लागि आवश्यक पर्ने २५८ विघा जग्गा अधिग्रहण तथा संरचना निर्माणको प्रक्रिया पनि सुरु भएको छ । मन्त्री आलेकै पहलमा यसवर्ष पनि उक्त विमानस्थलको जग्गा अधिग्रहण गर्नका लागि रु १ अर्व पाँच लाख बजेट विनियोजन भएको गेटा विमानस्थलस्थित नागरिक उड्डयन प्राधिकरणका प्रमुख रामकृष्ण भट्टले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here