काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले चिकित्सकहरू दुर्गम क्षेत्रमा जान नमान्दा सबै क्षेत्रमा स्वास्थ्य सेवा पुग्न नसकेको बताएका छन् । बिहीबार नेपाल स्वास्थ्य प्राविधिक संघको ४४औँ स्थापना दिवसलाई सम्बोधन गर्दै मन्त्री खापुङले अहिले देशका विभिन्न जिल्लाहरूबाट दरबन्दी खालि रहेको तर स्वास्थ्यकर्मीहरू जान नमान्दा देशका सबै क्षेत्रमा स्वास्थ्यको सुनिश्चितता हुन नसकेको बताए ।
मन्त्री खापुङले गाउँ क्षेत्रमा अहिलेपनि डाक्टर र नर्स एवं स्वास्थ्य प्राविधिकहरू जान नमान्दा स्वास्थ्य क्षेत्रमा समस्या आइरहेको बताए । उनल सबै स्वास्थ्यकर्मीहरूले जुनकुनै बेला कुनै क्षेत्रमा पनि जानुपर्नेछ भन्ने मानसिकताको विकास गर्न जरुरी रहेको बताए । अहिले सरकार संघीयताको कार्यान्वयनमा रहेको उल्लेख गर्दै उनले समायोजनमा पनि अनेक समस्या सिर्जना भइरहेको बताए ।
मन्त्री खापुङले स्वास्थ्यकर्मीहरूको जुनकुनै क्षेत्रमा जान हिचकिचाहट नगर्ने प्रवृतिको विकासले संविधानमा उल्लेख भएको स्वास्थ्यसम्बन्धी हकलाई कार्यान्वयन गर्ने कुरामा थप बल पुग्ने विश्वास व्यक्त गरे ।


















