केन्द्रीय कारागार अस्पतालका कैदीबन्दीहरुको मानसिक अवस्था गम्भीर

95

काठमाडौं ।नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकको रुपमा स्थापित गरेसँगै केन्द्रीय कारागार अस्पताल सुन्धारामा रहेका कैदी बन्दीहरुको निःशुल्क स्वास्थ्य जाँच हुँदैआएको छ । केन्द्रीय कारागार अस्पतालमा रहेका कैदीबन्दीहरुमा मानसिक स्वास्थ्यको अवस्था गम्भीर रहेको कारागारले जनाएको छ । अस्पतालकाअनुसार कारागारमा कूल नौ सयभन्दा बढी विरामी कैदीबन्दीहरुमध्ये तीनसय जनाले नियमित रुपमा मानसिक रोगको औषधी सेवन गर्नेगरेका छन् ।

सरकारले कारागारमा रहेका कैदीबन्दीहरुको सबै रोगको उपचार निःशुल्क गर्ने प्रतिबद्धताअनुसार विभिन्न जिल्लाका कारागारमा रहेका कैदीबन्दीहरुको संख्याकाआधारमा स्वास्थ्य प्राविधिकहरुको व्यवस्थापन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्दैआएको कारागारका प्रमुख डोरेन्द्र निरौलाले बताउनुभयो ।

उहाँकाअनुसार उपचार हुन नसकेका विरामीलाई स्थानीय तथा जिल्लाहरुमा रहेका माथिल्लो तहका स्वास्थ्य संस्थाहरु तथा केन्द्रीय कारागार अस्पतालमा उपचारको व्यवस्थापन हुँदैआएको छ । “केन्द्रीय तहमा नेपालकै सबैभन्दा ठूलो कारागारको रुपमा रहेको कारागार कार्यालय जगन्नाथदेवलमा तीस शैयाको अस्पताल सञ्चालनमा छ,” प्रमुख निरौलाले भन्नुभयो ।

वि.सं. १९७१ मा स्थापना भएको केन्द्रीय कारागार जगन्नाथदेवलमा २०२० मा एउटा कोठाबाट कैदीबन्दीको स्वास्थ्य परीक्षण सुरु गरिएको थियो । कारागार अस्पतालले २०६८ सालमा छुट्टै भवन निर्माण गरी २०७० साउन २८ गतेदेखि १५ शैयाको अस्पताल सञ्चालनमा ल्याएको हो ।

हाल तीस शैयाको अस्पतालमा प्रमुख सुपेरिन्टेन्डेन्ट (एघारौं) तहको नेतृत्वमा ६७ जनाको दरबन्दी छ । अस्पतालमा विभिन्न रोगका विशेषज्ञ चिकित्सकहरुले उपचार गर्नेगरेका छन् । अस्पतालमा पुरुष तथा महिला कैदीबन्दीका लागि छुट्टाछुट्टै वार्ड स्थापना गरिएको छ ।

अस्पतालमा ओपिडी, ल्याव, एक्सरे, अल्ट्रासाउण्ड, डेन्टल, मनोरोग, छालारोग र आँखा रोगको उपचार हुँदैआएको छ । १५ शैयाको अस्पताल सञ्चालन गर्न ३१ दरबन्दी रहेको अस्पतालले तीस शैयाको अस्पताल सञ्चालन गर्न ३६ दरबन्दी थप गरेको छ ।

अस्पतालभित्र उपचार हुन नसकेका बिरामीलाई रोगको प्रकृति हेरेर कारागार अस्पतालले सरकारी अस्पतालमा पठाउने गरेको छ भने कैदीबन्दीले निजी अस्पतालमा आफ्नो स्वास्थ्य जाँच गर्न चाहेमा आफ्नै पैसा खर्च गुर्नपर्ने व्यवस्था रहेको प्रमुख निरौलाले बताउनुभयो ।

अस्पतालका विरामीमा अहिले रुघाखोकी, दम, ज्वरो, टाइफाइडलगायत विभिन्न सरुवा रोग देखापरेको छ । “साँघुरो ठाउँ र धेरै कैदीबन्दी राख्दा सो रोगको संक्रमण देखिएको हो,” उहाँले भन्नुभयो, “अस्पतालले विरामी कैदीबन्दीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर २४ घण्टा सेवा दिँदैआएको छ ।”

कैदीबन्दीको मानसिक अवस्था 

अस्पतालको सूचनाअनुसार मानिस शारीरिक भावनात्मक साथै सामाजिक रुपमा स्वस्थ हुनुपर्छ । यसले मानिसको सोचाइ र अनुभवमा प्रत्यक्ष प्रभाव पर्छ । तनावलाई कसरी नियन्त्रण गरी समाधान गर्न सकिन्छ । त्यसले नै मानसिक स्वास्थ्यमा प्रभाव पार्ने हुन्छ ।

मानिस सामाजिक प्राणी भएकाले सामाजिक मूल्य मान्यतामा बस्न सामाजमा अरु सरह मिलेर बस्न, प्रतिष्ठा, नाम, इज्जत, सम्मान, प्रगति, नेतृत्व आदि कायम राख्न सकेमा सामाजिक जीवन सफल भएको मानिने अस्पतालद्वारा जारी सन्देशमा उल्लेख छ ।

त्यो पूरा नभएमा मानिस मानसिक रोगको शिकार हुने सम्भावना रहन्छ । कारागारमा मानसिक स्वास्थ्यको अवस्था अत्यन्तै चुनौतीपूर्ण रहेको अस्पतालको भनाइ छ । यसको मुख्य कारण व्यक्तिको व्यक्तिगत सफलता, सामाजिक सफलता र  आन्तरिक सन्तुष्टी रहने गरेको अस्पतालका चिकित्सकहरुको बुझाई छ ।

कारागारमा रहेको व्यक्ति परिवारका सदस्यहरुबाट अलग बस्नुपर्ने बाध्यता हुन्छ । त्यही अवस्थामा परिवार क्षतविक्षत हुन पुग्छ । सामाजिक बहिष्कार विभिन्न मुद्दामा कैद परेका वा बन्दी बनाइएका व्यक्तिलाई समाजले हेर्ने दृष्टिकोण पनि फरक हुने भएकाले कैद भुक्तानपछि पनि समाजमा पुनस्र्थापना हुन गाह्रो हुने अस्पतालका चिकित्सकहरुको बुझाई देखिन्छ ।

चिकित्सकहरुका अनुसार कतिपय अवस्थामा निर्दोष व्यक्तिहरु परिबन्धमा परी कैद भुक्तान गर्नु परिरहेको बाध्यताले पनि मानसिक रोगबाट ग्रसित हुनेगरेको देखिएको छ । कैदी जीवन विताइरहेका मानसिक रोगीहरुलाई समाजमा पुनस्र्थापना गराउन सामाजिक लाञ्छनाहरु लगाउन नहुने उहाँहरुको सुझाव छ ।

केन्द्रीय कारागारमा अन्य विभिन्न कारागारबाट कैदी विरामीहरुको स्थानान्तरण गरी ल्याइने भएकाले  नेपाल सरकारले सबै कैदीबन्दीहरुको निःशुल्क उपचार गर्ने गरेको छ । अस्पतालमा क्षमताभन्दा बढी अत्याधिक विरामीहरु रहेकाले स्याहार सुसारदेखि अस्पताल भर्नालगायत कार्य चुनौतीपूर्ण रहेको प्रमुख निरौलाले बताउनुभयो ।

कारागार अस्पतालको क्षेत्र सानो भएकाले सरुवा रोगका विरामी पनि एकै ठाउँमा राख्नुपर्ने बाध्यताले एकबाट अर्कोमा रोगहरु सर्ने सम्भावना अत्यधिक रहेको अस्पतालका चिकित्सकहरुको भनाइ छ । नेपालमा रहेको एकमात्र मानसिक अस्पताल पाटन अस्पताल हो । जहाँ बेड संख्या पनि न्यून छ । त्यहाँ साईक्याट्रिक डाक्टर पनि कम रहेको कारागार व्यवस्थापनको भनाइ छ । अदालतले मानसिक रोग हो वा होइन सोको उपचार गरी प्रतिवेदन माग गर्ने हुनाले तोकिएको समयमा सो कार्य पूरा गर्न कठिनाइ हुनेगरेको जेलका नाइके भनेर चिनिने बुलेटले बताउनुभयो । गाेरखापत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here