एक हप्तामा विज्ञापनसम्बन्धी आचारसंहिता अनुभूति हुने गरी कार्यान्वयन गर्न निर्देशन

81

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसंहिता एक हप्ता भित्रैमा अनुभूति हुने गरी कार्यान्वयन गर्न विज्ञापन बोर्डलाई निर्देशन दिएका छन् ।

बोर्डले तयार पारेको आचारसंहिता सार्वजनिक गर्दै मन्त्री कार्कीले विज्ञापन क्षेत्रलाई स्वस्थ र मर्यादित बनाउनका लागि जारी गरिएको आचारसंहिताको प्रभावकारी कार्यान्वयन हुनु पर्नेमा जोड दिए ।

सरोकारवाला पक्षहरुसँग धेरै छलफलपछि जारी गरिएको आचारसंहिताले विज्ञापन क्षेत्रमा देखिएको अस्वस्थ प्रतिस्पर्धा, विकृति र विसंगतिको अन्त्य गर्दै समाजलाई पनि लाभान्वित बनाउने मन्त्री कार्कीले बताए । उनले भने, ‘आचारसंहितामा अहिले विज्ञापन क्षेत्रमा देखिएको अस्वस्थ प्रतिस्पर्धा, विसंगति र विकृतिलाई अन्त गर्दै यसले यो क्षेत्रलाई मात्रै होइन समाजलाई पनि लाभान्वित गर्न सक्यो भने यो ऐतिहासिक हुन सक्दछ ।’

उनले आचारसंहिता कार्यान्वयनमा कुनै व्यवधान आएमा मन्त्रालयले तत्काल त्यसलाई हटाउने उनले प्रतिवद्धता पनि जनाएका छन् ।

‘यो आचारसंहिता प्रारम्भ भएको दिनदेखि जुन ठाउँमा अप्ठयारा आउँछन, जुन ठाउँमा अस्पष्टता आउँछन र जसले अगाडि बढनका निमित्त व्यवधान खडा गर्छ । त्यसलाई तुरुन्त निराकरण गर्नका निमित्त यो मन्त्रालय तपाईंहरुको साथ रहनेछ भन्ने कुरा यहाँहरुलाई विश्वास दिलाउन चाहन्छु,’ उनले भने ।

मन्त्री कार्कीले मुलुकलाई चाँडै सभ्य र सुन्दर बनाउन स्वतन्त्रता र अनुशासनलाई सँगसँगै अघि बढाउनुपर्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले विज्ञापन बजारमा देखिएका विसंगतिहरुलाई समाधान दिने गरी सो आचारसंहिता जारी गरिएको बताए । ‘विज्ञापन बजारमा देखिएको विसंगतिहरुलाई सम्बोधन गर्न सक्ने समाधानमुखि एउटा आचारसंहिता तयार भएको छ । त्यसलाई कार्यान्वयन गर्ने सन्दर्भमा केही जटिलताहरु आउलान । त्यसलाई विज्ञापन बोर्डले सहजीकरण गर्दै कार्यान्वयनमा लैजानुपर्ने हुन्छ,’ उनले भने, ‘सञ्चार संस्थाहरु टिकाउका लागि पनि विज्ञापन क्षेत्रलाई स्वस्थ र मर्यादित बनाउनुपर्ने भएकाले यसका लागि सो आचारसंहिता जारी भएकाले सोही अनुसार विज्ञापन बोर्डले कार्यान्वयन गर्नेछ ।’

विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले विज्ञापन क्षेत्रमा देखिएका सबै खालका विकृति, विसंगतिहरुको अन्त्य गर्दै विज्ञापन व्यवसायमा आवद्ध सबैलाई जिम्मेवारी बनाउने उद्देश्यका साथ सो आचारसंहिता निर्माण गरी लागू गरिएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here