काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान रेनुका नगरकोटीको शल्यक्रिया सम्पन्न भएको छ ।
रेनुकाको सोमबार राति ग्वार्कोस्तिथ बी एण्ड बी अस्पतालमा सफल शल्यक्रिया गरिएको हो । कप्तान रेनुका सोमबार नै राष्ट्रिय टोलीको बन्द प्रशिक्षणको दौरान घाइते भएकी थिइन् । ललितपुरको सातदोबाटोस्थित एन्फाको खेल मैदान जारी बन्द प्रशिक्षणको दौरान सोमबार रेनुका चोटिल बनेकी थिइन् ।
नेपाली राष्ट्रिय महिला फुटबल टोली हाल १९ औं संस्करणको एशियन गेम्स (एसियाड) को तयारीका लागि बन्द प्रशिक्षणमा रहेका छन् । सोमबारको प्रशिक्षणका दौरान अर्को खेलाडी सरस्वती ऐरले ट्याकल गर्दा असन्तुलित भई रेनुका मैदानमा लड्न पुगेकी थिइन्। उनको क्लाभिकल कलरबोन अर्थात् घाँटीमुनिको बायाँ हड्डी (ब्युटी बोन) भाँचिएको थियो ।
त्यसलगत्तै सोमबार राति नै उनको शल्यक्रिया गरिएको हो । रेनुकाको बी एण्ड बीका वरिष्ठ डाक्टर अमित जोशीको टोलीले शल्यक्रिया गरेका थिए । शल्यक्रिया सफल भएपनि रेनुका अब कति समय मैदान बाहिर रहन्छिन् त्यो भने निश्चित नभएको महिला टोलीका प्रशिक्षक बालगोपाल महर्जनले जनाकारी दिए ।
यससँगै रेनुकाले भदौं १३ देखि २५ सम्म नेपाल आयोजना हुने महिला साफ च्याम्पियनसिप गुमाउने सम्भावना समते बढेको छ । उनी राष्ट्रिय टोलीसँगै विभागीय टोली एपिएफकी क्लबकी समेत कप्तान हुन् । रेनुका २०१० देखि नियमित नेपाली महिला फुटबल टोलीकी सदस्य रहँदै आएकी छिन्।


















