काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारले मुलुकको अर्थतन्त्रको माग र समयअनुसार मौद्रिक नीति आउने जनाएका छन्।
आइतबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले अगामी आर्थिक वर्ष मौद्रिक नीतिका विषयमा सुझाव कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो जनाएका हुन्।
उनले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेकाले चुनौतीपूर्ण अर्थतन्त्र र बाह्य क्षेत्र व्यवस्थापन गर्ने गरी नीति आउने बताए। गभर्नर अधिकारले गभर्नर वा निजी क्षेत्रको मागभन्दा पनि मुलुकको अर्थतन्त्रको मागलाई सम्बोधन गरी मौद्रिक नीति ल्याउनुपर्ने जनाए ।
उनले अर्थतन्त्रलाई स्थिर बनाउनुपर्ने अवस्था रहेको भन्दै अर्थतन्त्र अस्थिर भए समस्या आउने भएकाले अर्थतन्त्रलाई सुधार गर्ने गरी मौद्रिक नीति आउने स्पष्ट पारे। गभर्नर अधिकारीले अहिलेको अर्थतन्त्रको मागअनुसार मौद्रिक नीति ल्याउने विषयमा राष्ट्र बैंकको टिमले सुक्ष्म रुपमा तथ्यांक विश्लेषण गरिरहेको जनाए ।
उनले निजी क्षेत्रले व्यवसाय सहज हुने गरी नीतिको अपेक्षा गर्नु राष्ट्र बैंकले स्वभाविक रुपमा लिएको बताए। गभर्नर अधिकारीले अर्थतन्त्र सुधार गर्दा सरकारको लक्ष्यअनुसार राजश्व संकलन नहुने, व्यवसायीहरू मार्कामा पर्ने संकेत गरे। उनले महासंघले दिएका सुझावलाई मौद्रिक नीतिमा समेट्ने प्रतिबद्धता जनाए।
उनले भने, ‘अहिलेको अर्थतन्त्रको अवस्था सुहाउने मौद्रिक नीति ल्याउँदा हामी सबैले केही सहनुपर्ने हुनसक्छ। एउटा रेगुलेटर भएको हिसाबले सहनुपर्ने हुनसक्छ। बैंकका ग्राहक निजी क्षेत्रले सहनुपर्ने हुनसक्छ। बैंकहरुले सहनुपर्ने हुनसक्छ। राज्यको राजश्वहरु घट्न सक्ला, त्यो खालको चुनौती छ। त्यो सहनुपर्ने हुनसक्छ। यो सहँदा हामीले हाम्रो अर्थतन्त्रलाई सही ठाउँमा नै जानसक्छौँ भने सहन गाह्रो मान्नु हुँदैन। यसमा हामी सबै तयार हुनुपर्छ। समय र अर्थतन्त्रको माग के हो? त्यो अनुसारको पोलिसी आउने हो। गभर्नर महाप्रसाद अधिकारीलाई के लाग्छ दिमागमा त्यो पोलिसी आउने होइन। निजी क्षेत्रले के माग गर्नुहुन्छ, त्यो आउने होइन। पोलिसीमा राष्ट्र बैंक स्पष्ट छौँ। हाम्रो टेक्निकल टिमले काम गरिरहेको छ। अर्थतन्त्रको माग अनुसार मौद्रिक नीति लिएर आउँछौँ।’
उनले थपे, ‘त्यो ल्याउँदा कुनैपनि क्षेत्रलाई सम्बोधन गर्नुपर्ने हुन्छ। त्यो कसरी सम्बोधन गर्ने छलफल भइरहेको छ। हामी सबैलाई थाहा छ, एक खालको चुनौतीपूर्ण अवस्थामा छौँ। अवस्था चुनौती नै छ। यो अवस्था बाह्य क्षेत्रबाट आएको छ। बाह्य क्षेत्रको व्यवस्थापन गर्नु चुनौती रहेको छ। यो चुनौतीले बैंकिङ क्षेत्र र समग्र अर्थतन्त्रमा कुनै किसिमको अस्थिरता निम्त्याउने हो कि त्रास,डर र चुनौती हामीमा छ। समस्या समाधानको लागि सरकार,राष्ट्र र निजी क्षेत्रबाट भइरहेका छन्। पहिलो कुरा अर्थतन्त्रमा स्थायित्व हुनुपर्यो। त्यसभित्र हामी सबै अटाउँछौँ, काम गर्न पाउँछौँ। प्रणालीमा अस्थिरता आयो भने त्यहाँ काम गर्दा धेरै किसिमका समस्या आउन सक्छन्। निजी क्षेत्रले सरकारले आफ्नो अनकुलको नीति ल्याइदिए हुन्थ्यो भन्नु स्वाभाविक हो।’

















