पर्यटनमन्त्री श्रेष्ठद्वारा पर्यटन क्षेत्रलाई उकास्नका लागि केही दिनमै रणनीतिक योजना सार्वजनिक गरिने

103

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन क्षेत्रलाई उकास्नका लागि केही दिनमै रणनीतिक योजना सार्वजनिक गरिने जनाएका छन्।

पर्यटन क्षेत्रलाई कसरी पहिला (कोभिड महामारी पूर्व)को अवस्थामा फर्काउने भन्नेमा आफू र आफू नेतृत्वको मन्त्रालय लागिरहेको मन्त्री श्रेष्ठको धारणा छ।

सोमवार काठमाडौंमा आयोजित विश्वका सबैभन्दा धेरै उचाइमा होटल खोलेर गिनिज बुक अफ दि वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल होटललाई शुभकामना एवं आधिकारिक प्रमाणपत्र प्रदान गर्दै उनले यस्तो जनाएका हुन्। मन्त्री श्रेष्ठले विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको होटलमा नेपालले रेकर्ड बनाएको भन्दै खुसी व्यक्त गरे । सोलुखुम्बु जिल्लाको गोरखसेप सगरमाथा आधारशिविर नजिकको गाउँमा खुलेको ‘एभरेष्ट इन प्राइभेट लिमिटेड’ विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको होटल बनेको छ। यो होटल ५ हजार १ सय ८० मिटर उचाइमा अवस्थित छ।

‘वर्ल्ड बुक्स रेकर्ड’ लण्डनबाट विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको होटलका रुपमा ‘एभरेष्ट इन प्राइभेट लिमिटेड’ले आधिकारिक प्रमाणपत्र पाएको छ। कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले भने, ‘यो सबै नेपालीहरुको लागि खुसीको विषय हो। विश्वको सबैभन्दा धेरै उचाइमा होटल रहेको भन्ने गिनिज बुक अफ दि वल्र्ड रेकर्डमा रहेको कुरा छ। यसले नेपाललाई चिनाउने विभिन्न बयानमध्ये अर्को एउटा बयानको रुपमा होटेल रहन सक्नेछ भन्ने मलाई लागेको छ,’ मन्त्री श्रेष्ठले भने, ‘पर्यटन क्षेत्रलाई कसरी पहिलाकै अवस्थामा फर्काउने भन्नेमा मन्त्रालय लागिरहेको छ। केही दिन भित्रमा पर्यटन क्षेत्रको व्यवसायलाई पुनः स्थापित गर्ने अजेण्डाहरु घोषणा गर्नेछौँ।’

एभरेष्ट इन प्राइभेट लिमिटेड होटल समुद्री सतहभन्दा ५ हजार १८० मिटरको उचाइमा बनाइएको छ। यसअघि सन् २००४ मा होटल एभरेस्ट भ्यूलाई विश्वकै सबैभन्दा अग्लो ठाउँमा रहेको होटलको रुपमा गिनिज बुकमा दर्ता गरिएको थियो। यो होटल सन् १९७१ मा खोलिएको थियो। यो होटल ३ हजार ८८० मिटरको उचाईमा अवस्थित छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here