आजदेखि तीनदिनसम्म वर्षा हुने

77

काठमाडाैं । आजदेखि बिहीबारसम्म देशभर वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेकाले आजदेखि तीन दिनसम्म देशैभरि वर्षा हुने सम्भावना देखिएको हो। मंगलबार बिहान पनि प्रदेश नम्बर १, बागमती, गण्डकी तथा सुदूरपश्चिम प्रदेशलगायत प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

काठमाडौंमा पनि आज दिनभरजसो वर्षा हुने सम्भावना रहेको मौसमविदहरूले बताएका छन्। उपत्यकामा आज छिटपुट वर्षा हुने सम्भावना रहेको मौसमविद्‍ले गराएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

महाशाखाकाअनुसार आज राति पनि मौसम देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।  यस्तै भोलि सुदूरपश्चिम, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

बिहिबार लुम्बिनी, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

देशका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले सचेत रहन महाशाखाले अनुरोध गरेको छ।यस्तै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन/यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here