काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन गर्न गृहकार्य सुरु गरेको छ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रुपबाट सम्पन्न गर्न मतदानस्थल र मतदानकेन्द्र पुनरावलोकन कार्ययोजनासमेत बनाइ सुरु गरिसकेको आयोगले जनाएको छ।
‘यसको लागि २०७९ साउन १ गतेदेखि भाद्र ७ गतेसम्म कार्यक्रम सञ्चालन हुनेगरी आयोगको २०७९ असार ३१ गतेको निर्णयअनुसार कार्यक्रम स्वीकृत गरी जिल्ला जिल्लामा पठाइसकिएको छ,’ आयोगले आज एक विज्ञप्ति जारी गर्दै भनेको छ।
सोही कार्यलाई प्रभावकारी बनाउन आज मतदानस्थल तथा मतदानकेन्द्र निर्धारण समन्वय समितिको बैठक बसेको थियो।
बैठकले आवश्यक पूर्वाधारसहितको पायक पर्ने स्थानमा मतदानस्थल तथा मतदानकेन्द्र निर्धारण गरी पुनरावलोकन गर्दै सिफारिस गरी पठाउने सम्बन्धमा आवश्यक सहयोग, सहजीकरण र समन्वय गरिदिन सरकार, गृह मन्त्रालय, अर्थ मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयहरूलाई अनुरोध गर्ने निर्णय गरेको छ।
जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिबाट आयोजना गरिएको छलफल कार्यक्रम र बैठकमा अनिवार्य रुपमा सहभागी हुनका लागि सम्बन्धित राजनीतिक दलका जिल्लास्तरीय संगठनलाई आवश्यक निर्देशन हुन आयोगमा दर्ता भएका सबै राजनीतिक दलहरुलाई पत्राचार गर्ने निर्णय समेत गरेको छ।


















