कैलालीमा हिंस्रक वन्यजन्तुले एकै दिन किसानका २१ बाख्रा मारे

70

धनगढी । कैलालीमा हिंस्रक वन्यजन्तुले एकै दिन किसानका २१ बाख्रा मारेको छ।

पहाडी क्षेत्र मोहन्याल गाउँपालिका९७ कुइनेस्थित कालिका सामुदायिक वनको संरक्षण क्षेत्रमा पर्ने पानी खोला जङ्गलमा वन्यजन्तुले किसानका बाख्रा मारेको हो। चराउन लगिएकामध्ये २१ बाख्रालाई वन्यजन्तुले एकै दिन मारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।

प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार त्यो वन्यजन्तुले डीआर एकीकृत कृषि फर्मका धर्मराज मिजारका छ खसी र चार बाख्रा मारेको छ। यसैगरी, नवीन बडुवालका चार बोका, चार बाख्रा, पहिला बिटालुका दुई र सावित्रा बडुवालको एक बाख्रा मारेको उहाँले जानकारी दिए।

साउन १६ गते जङ्गलमा चराउन लगिएका २१ बाख्रालाई वन्यजन्तुले मारेपछि इलाका प्रहरी कार्यालय सुगरखालबाट सोमबार प्रहरी टोली घटनास्थलमा पुगेको थियो। स्थानीयले ती बाख्रालाई चितुवाले मारेको बताएका छन्। कर्णाली कोरीडोर र बर्दिया राष्ट्रिय निकुञ्जभन्दा केही किलोमिटरमाथि पहाडमा रहेको कुइनेसम्म अहिलेसम्म बाघ पुगेको अभिलेख नरहेको जनाइएको छ।

त्यसरी बाख्रालाई मार्ने सम्भवतः चितुवा हुनसक्ने बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठले बताए। ‘घरपालुवा जनावरलाई सामूहिक रुपमा चितुवाले मार्ने गरेको छ। यस्तो घटना विगतमा विभिन्न ठाउँमा देखिएको छ’, उनले भने, ‘बाघले त्यसरी एकै पटक धेरैलाई मार्दैन।’

घटनाको प्रकृति अनुसार चितुवाले नै मारेको हुनसक्ने सम्भावना रहे पनि यत्तिकै भन्न नसकिने श्रेष्ठको भनाइ छ। ‘त्यहाँ देखिएका पञ्जाको छापबाट बाघ हो कि चितुवा स्पष्ट बुझ्न सकिन्छ’, उनले भने ।

विश्व वन्यजन्तु कोष ९डब्लूडब्लूएफ० का बाघ विशेष समुन्द्र सुब्बाले बाख्रालाई चितुवाले नै मारेको हुनसक्ने बताए। ‘सम्भवतः एउटै चितुवाले बाख्रा मारेको हो’, उनले भने, ‘किनभने, कमन लेपर्ड प्रायः एक्लै नै जङ्गलमा घुम्छन्।’ बाघले बाख्राभन्दा पनि ठूला ठूला जनावरलाई झम्टेर खाने गरेको विशेषज्ञ सुब्बाको भनाइ छ। ‘बाघले एकै समयमा धेरै बाख्रालाई मारेको अहिलेसम्म सुनिएको छैन’, उनले भने

स्थानीय संरक्षणकर्मी विजयराज श्रेष्ठको बुझाइमा एउटा चितुवाले धेरै घरपालुवा जनावरको ज्यान लिए पनि एउटैलाई मात्रै बोकेर लग्ने र खाने गरेका छन्। उनले कैलालीको तराईका जङ्गलमा बाघ, चितुवा र पहाडी क्षेत्रको वनमा चितुवा पाइने गरेको उल्लेख गरे। ‘कैलालीमा बाघ आउँछन् तर, कुइनेसम्म बाघ पुगेको तथ्याङ्क छैन’, उनले भने ।

गत वर्ष कैलालीको बसन्ता कोरीडोरस्थित मसुरिया क्षेत्रमा भने बाघ आएको थियो। सो बाघले एक महिलाको ज्यानसमेत लिएको थियो। उक्त बाघ चुरे क्षेत्रसम्म पुगेर घुमफिर गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here