काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले ताइवानको रक्षा गर्न आफू शक्ति प्रयोग गर्न तयार रहेको बताएका छन्। यद्यपि ह्वाइट हाउसका अधिकारीहरूले चीन-ताइवान सम्बन्धबारे अमेरिकाको आधिकारिक धारणा परिवर्तन नभएको बताएका छन्।
चीनले ताइवानमा सैन्य आक्रमण गरेमा अमेरिकाले हस्तक्षेप गर्छ कि गर्दैन भन्ने विषयमा वाशिङ्टनले लामो समयदेखि रणनीतिक अस्पष्टता राख्दै आएको छ।
चिनियाँ राष्ट्रपति सी जिन्पिङले ताइवानसँग फेरि एकीकरण गर्नुपर्ने बताउँदै त्यो लक्ष्य हासिल गर्न शक्ति प्रयोगको सम्भावित अवस्थालाई अस्वीकार गरेका छैनन्।
ताइवानमा स्वायत्त शासन छ। तर चीनले ताइवानलाई चोइटिएर गएको आफ्नो प्रान्तका रूपमा हेर्छ र अन्ततः त्यो फेरि आफ्नै देशको भाग हुने ठान्छ।
ताइवानले आफूलाई अलग्गै संविधान भएको र प्रजातान्त्रिक विधिबाट निर्वाचित नेता रहेको स्वतन्त्र राष्ट्रका रूपमा हेर्छ । गत वर्ष अभूतपूर्व सङ्ख्यामा चिनियाँ लडाकु विमानहरूको लर्को ताइवानको हवाई प्रतिरक्षा क्षेत्रमा देखा परेपछि चीन र ताइवानबीच तनाव बढ्दै गएको छ।
ताइवान कहाँ छ
ताइवान दक्षिणपूर्वी चीनको तटीय क्षेत्रबाट करिब १०० माइल टाढा अवस्थित टापु हो । उसको अवस्थिति फर्स्ट आइल्यान्ड चेनु भनिने अमेरिकासँग मैत्रीपूर्ण सम्बन्ध रहेका भूभागहरू रहेको स्थानमा छ र उक्त क्षेत्र अमेरिकी विदेशनीतिका लागि महत्त्वपूर्ण मानिन्छ।
कतिपय पश्चिमा विज्ञका अनुसार चीनले ताइवानमाथि कब्जा गर्यो भने पश्चिम प्रशान्त क्षेत्रमा आफू शक्तिशाली रहेको देखाउन ऊ अझ स्वतन्त्र हुने तथा ग्वाम र हवाईसम्म रहेका अमेरिकी सैनिक शिविरहरूमा जोखिम बढ्न सक्छ । तर चीनले आफ्नो उद्देश्य सम्पूर्ण रूपमा शान्ति रहेको अडान राख्ने गरेको छ।
ताइवान किन चीनबाट छुट्टिएको हो ?
दोस्रो विश्वयुद्ध पछि ताइवान र चीनको विभाजन भयो। त्यस बेला चिनियाँ मूलभूमिमा राष्ट्रवादी सरकारी सेना र चिनियाँ कम्युनिस्ट पार्टीबीच लडाइँ भइरहेको थियो।
कम्युनिस्टहरूले सन् १९४९ मा विजय हात पारे र उनीहरूका नेता माओ त्सेतुङले बेइजिङलाई आफ्नो नियन्त्रणमा लिए । त्यस बेला क्वोमिन्ताङ भनिने राष्ट्रवादी दल भागेर नजिकैको ताइवान पुगेको थियो ।
चीनबाट भागेपछि क्वोमिन्ताङको नेतृत्व च्याङ्काइ सेकले गरेका थिए । त्यसयता क्वोमिन्ताङ ताइवानको सबैभन्दा प्रभावशाली दल बनेको छ र उसले विगतका अधिकांश समय उक्त टापुमा शासन गर्दै आएको छ ।
अहिलेसम्म जम्मा १३ देश र भ्याटिकनले मात्रै ताइवानलाई सार्वभौमसत्ता सम्पन्न देशका रूपमा स्वीकार गर्छन् ।
चीनले अरू देशहरूलाई ताइवानलाई मान्यता नदिन वा मान्यता दिएको जस्तो देखिने कुनै काम नगर्न उल्लेख्य मात्रामा कूटनीतिक दबाव दिने गर्छ । ताइवानका विदेशमन्त्रीले चीनसँगको सम्बन्ध ४० वर्षयताकै सबैभन्दा नराम्रो अवस्थामा रहेको बताएका छन् ।
के ताइवानले आफ्नो सुरक्षा गर्न सक्छ !
चीनले आर्थिक सम्बन्ध बलियो पार्ने जस्ता गैरसैनिक विधिबाट पुनरेकीकरण अघि बढाउने प्रयास गर्न सक्छ । तर सैनिक सङ्घर्षका लागि चीनका सशस्त्र बलहरू ताइवानका भन्दा निक्कै शक्तिशाली छन्।
चीनले अमेरिकापछि सबैभन्दा धेरै पैसा प्रतिरक्षाका लागि खर्च गर्छ। उससँग जलसेनादेखि क्षेप्यास्त्र प्रविधि, विमानहरू र साइबर आक्रमण गर्ने ठूलो सामर्थ्य छ । चीनको अधिकांश सैन्य शक्ति अरू ठाउँमा केन्द्रित छ। तर सुरक्षामा परिचालित जनशक्तिका हिसाबले दुई देशबीच ठूलो भिन्नता छ।
खुल्ला द्वन्द्वमा कतिपय पश्चिमा विज्ञको भविष्यवाणी अनुसार ताइवानले चिनियाँ आक्रमणलाई सुस्त बनाउने लक्ष्य राख्न सक्छ । त्यस्ता विज्ञका धारणामा उसले समुद्रबाट प्रवेश गर्ने फौजहरूलाई किनारामा ओर्लिनबाट रोक्ने प्रयास गर्न सक्छ र बाहिरको सहयोगको अपेक्षा गर्दै गुरिल्ला आक्रमण गर्न सक्छ।
त्यस्तो सहयोग अमेरिकाबाट आउन सक्छ जसले ताइवानलाई हतियार विक्री गर्छ। यद्यपि वाशिङ्टनले रणनीतिक अस्पष्टताु को औपचारिक नीति लिँदै आएको छ।
अर्को शब्दमा भन्नुपर्दा अमेरिका आक्रमण भएको सन्दर्भमा उसले ताइवानको प्रतिरक्षा कसरी गर्ने भन्ने विषयमा नियोजित रूपमा नै अस्पष्ट छ।
कूटनीतिक रूपमा अमेरिका अहिले चीन नीतिप्रति प्रतिबद्ध छ जसले बेइजिङमा रहेको एउटा मात्रै चिनियाँ सरकारलाई मान्यता दिन्छ। बीबीसी


















