काठमाडाैं । मादक पदार्थ सेवन गरेर स्कुल बस चलाइरहेका दुईजना ड्राइभरलाई ट्राफिक प्रहरी महाशाखाले कारबाही गरेको छ।
उनीहरुले मदिरा सेवन गरी स्कुलको सवारी साधन चलाएको पाइएपछि ट्राफिक प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारबाहीपछि सम्बन्धित स्कुलका प्रधानाध्यापकलाई जिम्मा लगाएको छ।
यसअघि ट्राफिक प्रहरीले विभिन्न स्कुलका बस मदिरा पिएर चलाएको अवस्थामा फेला पारेर सातजना ड्राइभरमाथि कारबाही गरिसकेको छ।
प्रहरीले मदिरा सेवन गरी पानी बोक्ने सवारी साधन चलाउने चालक ३ जना र अन्य सवारी साधन चलाउने २ जना चालकमाथि कारबाही गरेको छ।
नम्बर प्लेट नराखी चलाएको एउटा एम्बुलेन्सलाई समेत ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए।


















