ब्रेन्ट कच्चा तेल र मुर्बान कच्चा तेलको भाउ ९४ डलरमा झरे

67

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा शुक्रबार कच्चा तेल (डब्लूटीआई)को मूल्य प्रतिब्यारेल ८९ डलरमा झरेको छ । त्यस्तै ब्रेन्ट कच्चा तेल र मुर्बान कच्चा तेलको भाउ ९४ डलरमा झरेको छ । प्रतिब्यारेल १३० डलरसम्म पुगेको कच्चा तेलको मूल्य २ महिनामै झण्डै ४० डलरले घट्नुलाई ठूलो गिरावट मानिएको छ । यद्यपि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ अझै घट्ने विभिन्न प्रक्षेपण सार्वजनिक भएका छन् ।

यसैबीच तेल उत्पादक तथा आपूर्तिकर्ता मुलुकहरुको संगठन ओपेक प्लसले सेप्टेम्बर महिनाका लागि कच्चा तेलको उत्पादन बढाउने निर्णय समेत गरेको छ । ओपेक प्लसले सेप्टेम्बरमा दैनिक थप १ लाख ब्यारेल तेल उत्पादन गर्ने निर्णयले आपूर्तिमा थप सहज हुने र त्यसले अन्तत: मूल्य घट्न मद्दत पुग्ने अनुमान छ । अर्कोतर्फ रुसको उत्पादन पनि घट्ने संभावना नदेखिएकाले तेलको भाउ अझै घट्न सक्ने भारत पेट्रोलियमका प्रमुख अरुणकुमार सिङले इकोनोमिक टाइम्सलाई बताएका छन् । यसअघि अमेरिकी बहुराष्ट्रिय लगानी बैंक सिटी ग्रुपको एक रिपोर्टले २०२२ को अन्त्यसम्म कच्चा तेलको भाउ घटेर प्रतिब्यारेल ६५ डलरसम्म आउन सक्ने प्रक्षेपण सार्वजनिक गरेको छ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसनबाट पनि तेलको मूल्य घटेर आएको छ । हालै डिजल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको छ । त्यसअघि पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आएको थियो ।भारतले प्रशोधन खर्च र कच्चा तेलको मूल्यअनुसार नेपाललाई प्रत्येक १५–१५ दिनमा नयाँ मूल्य सूची पठाउँछ । पेट्रोलियम पदार्थको मूल्य बढी हुँदा ढुवानी खर्च समेत बढ्न गई भान्सा समेत महँगिन जान्छ । कच्चा तेलको मूल्य घटेमा महँगी नियन्त्रणमा समेत सघाउ पुग्नेछ । कच्चा तेलको मूल्य घट्नु नेपालको समग्र अर्थव्यवस्थाका लागि फाइदा हुनु हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here