महँगीको विरोधमा समसामयिक विषयमा सडक कविता कार्यक्रम

79

काठमाडाैं । प्रगतिशील लेखक संघ नेपाल, काठमाडाैं जिल्ला कार्यसमितिले भ्रष्टाचार तथा महँगीको विरोधमा समसामयिक विषयमा सडक कविता कार्यक्रम सम्पन्न गरेको छ । श्रावण २० गते शुुक्रबार काठमाडाैंको शान्ति बाटिकामा भएको उक्त कार्यक्रममा सत्र जना कविहरूले आफ्नो कविता वाचन गरे ।

“नागरिकता खोस्टो होइन नागरिकलाई वस्तु नठान” भन्ने नारासहित भएको कार्यक्रम प्रलेस काठमाडौँको निरन्तरको अभियान हो । कार्यक्रमको अध्यक्षता जिल्ला कार्यसमिति काठमाडौँका अध्यक्ष ज्ञानुु विद्रोहीले गरेका थिए भने कार्यक्रमका प्रमुुख अतिथि प्रलेसका केन्द्रीय अध्यक्ष डा. मधुुसूूदन गिरी थिए । कार्यक्रममा प्रलेस केन्द्रीय कोषाध्यक्ष बाबा बस्नेत, हिरण्यलाल श्रेष्ठ, रामबहादुर पहाडी, ध्रुुव घिमिरे, नारायण निरासी, बैरागी जेठा, मसान उपासक, रुपक अलंकार, कौशल्या रिसाल लगायतका अतिथि कवि साहित्यकारहरूको उपस्थिति थियो ।

कार्यक्रमको शुरुमा अध्यक्ष ज्ञानुु विद्रोहीले त्यस कार्यक्रमको औचित्य र सान्दर्भिकतबारे प्रष्ट पारेका थिए । प्रमुुख अतिथि कवि मधुसूदन गिरीले उद्घटन गरेको सो कार्यक्रममा उल्लिखित अतिथि कविका साथै रश्मि रिमाल, भक्त विक, शिवकुमार श्रेष्ठ, समष्टि बुढामगर, अनु खड्का, कल्पना देवकोटा न्यौपाने लगायतले नागरिकता, सीमाना, भ्रष्टाचार, महँगी, अव्यवस्थाजस्ता विषयमा आआफ्ना रचना वाचन गरेका थिए ।

वर्तमान सरकार विदेशीको इसारामा चलेको, सुशासन कायम गर्न नसकेको, राष्ट्रियता कमजोर भएको, भ्रष्टाचारले देशलाई खोक्रो बनाएको, महँगीले आकाश छोएको तर सरकार भने आफ्नो कुर्सी जोगाउने ध्याउन्नमा रहेको भन्दै वर्तमान अवस्थाप्रति कविहरूले कटाक्ष मात्र गरेनन् आक्रोश पनि पोखे ।

यतिखेर देशमा भ्रष्टाचारको नग्ननृत्य चलेको छ भने महङ्गीले आकाश छोएर आम श्रमजीवी नागरिकको जीवनयापन कष्टसाध्य भएको छ । नागरिक सर्बोच्चता र नागरिकताका सवालहरूमा देश सङ्गिन घडीमा उभिएको छ भन्ने भावका कविताहरूले शान्तिबाटिकाको वातावरणलाई तताएको थियो ।

कार्यक्रमका अध्यक्ष ज्ञानु विद्रोहीले बेथितिका विरुद्ध प्रलेस काठामाडौँले यस्ता कार्यक्रम निरन्तर आयोजना गरेर सरकारलाई खबरदारी गरिरहने जानकारी दिए । कार्यक्रममा सुरक्षाकर्मी, पत्रकार, पैदलयात्रीहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here