‘पाइने रैछ माया’ सार्वजनिक

201

गायक दिनेश थानीको स्वरमा रहेको निकै नै मिठो गीत ‘पाइने रैछ माया’ OSR डिजीटल मार्फत युट्युबमा सार्वजनिक गरिएको छ। चलचित्रका साथै म्युजिक भिडियोका पनि अनुभवी एवं निकै सम्भावना बोकेका निर्देशक रोशन कुमारले यसलाई निर्देशन गरेका छन्। गीतकार भवानी प्रसाद थानीले उनका शब्दमा जीवनको यथार्थ भोगाईलाई उतारेका छन्। यस गीतका संगीतकार प्रमोद पन्त र संगीत संयोजक रिदम कँडेल हुन् भने मिक्सिङ्ग र माष्टरिंग महेश्वरमान राजभण्डारीले गरेका हुन् ।

दि लाइफ एक्सप्रेस मुभी मेकर्स प्रा.लि. ले निर्माण गरेको भिडियोमा सुनिता पराजुलीको प्रस्तुति रहेको छ। भिडियोलाई मुकेश हुमागाईंले छायांकन गरेका हुन् र सम्पादन एवं कलरिंग भने मीन रावलले गरेका हुन्। आरव प्रोडक्सनमा पोस्टको सम्पुर्ण काम गरिएको सो भिडियोमा,प्रेम बश्यालले क्रीयटिभ हेडमा साथ दिएका छन भने चर्चित कलाकार यशराज गराच र साक्षी लम्सालको उत्कृष्ट अभिनय हेर्न सकिन्छ। झन्डै ६ मिनेट लामो भिडियोमा एक सांगीतिक कथा समेटिएको जसको प्रस्तुतीकरण साधारण तरिकाले गरिएकोले यो भिडियो पक्कै पनि दर्शकको रोजाइमा पर्ने आशा र विश्वास रहेको निर्देशक रोशन कुमारले बताए।

आधुनिक गीत गायनमा अब्बल मानिएका गायक थानीका यस अघि रिलिज गरिएका गीत तथा भिडियो दर्शक तथा श्रोताले निकै रुचाएको पाइन्छ। आधुनिक गीत तर्फ रेडियो नेपालका विशिष्ट श्रेणीका गायक थानीले २०५० सालदेखि रेडियो नेपालले आयोजना गर्ने राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगिता बाट विधिवत रुपमा आफ्नो गायन करियर शुरु गरेका हुन्। बरिष्ठ गायक थानीले १५० भन्दा बढी गीतमा आवाज दिइसकेका छन् भने विभिन्न फुटकर एल्बमका साथै उनको सोलो एल्बम ‘आलय’ २०६०/६१ सालतिर चर्चामा रहेको थियो।

निकै मेहेनत साथ आफूले काम गरेकोले दर्शक तथा श्रोताको अवश्य माया पाउने आशा राखेका गायक दिनेश थानी जागीरको व्यस्तताका कारण केही वर्ष गीत संगीतको क्षेत्रमा हराएको स्वीकार्छन् र यो गीतलाई उनी यस क्षेत्रमा ‘कम ब्याक’ भएको भन्न रुचाउँछन्। नेपाल सरकारको निजामती सेवामा कार्यरत उनीसँग नेपाल टेलिभिजनमा समाचारवाचक लगायत कार्यक्रम प्रस्तोता समेत रहेको अनुभव छ।

यस अघि बरिष्ठ संगीतकारहरु र गीतकारहरु सँग सहकार्य गरिसकेका उनका ‘साँझपख साँझको बत्ती’, ‘गाउने छैन म’, ‘कहिले माया उकाली ओराली’, ‘हेराइमा कस्तो जादु’ आदि गीतहरु चर्चामा रहेका थिए। गीत संगीत क्षेत्रमा गरेको योगदानका कारण उनले गद्दी आरोहण पदक, नेपाली चलचित्र महोत्सबमा मोशन पिक्चर अवार्ड, लालीगुराँस युवा सम्मान लगायतका दर्जनौं पुरस्कार तथा सम्मान पाइसकेका छन्। भिडियो हेर्न तलको लिन्कमा क्लिक्क गर्नुहोला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here